दोस्रो महायुद्धको समयमा जन्मेकी रहेछिन् मेरी आमा । आमाको आप्पा बाबु अर्थात् मेरा मावाली हजुरबा अन्न बेचेर नुनतेल, लत्ताकपडा, चाडपर्व, मीठो मसिनो, परेको दुःख टार्नुहुन्थ्यो रे । हजुरबाको सकारात्मक सोच भएर होला, उचित शिक्षा दीक्षापछि लामो समय आमाले शिक्षण पेशा अंगालिन् । दोस्रो जनआन्दोलनपछि आमा राजनीतिमा सहभागी भइन् र सांसद् पनि भइन् । एक सामान्य किसान परिवारको छोरी शिक्षिकाबाट सांसद्सम्म भइन् ।
काठमाडौं उक्लिंदा मेरी आमाले सानो पोकामा सातु र किनिमा राखिदिएको अस्ति जस्तो लाग्छ । तर झन्डै तीन दशक हुन लागिसकेछ । यो तीन दशकभित्र प्रजातन्त्र आयो । राजा संवैधानिक हुँदै नागरिकमा झरे । पार्टीका आसेपासे, भाइभतिज, आफन्त मोटाए । महँगी, भ्रष्टाचार कमिसन, दलाली, विदेशी हस्तक्षेप भदौरे भेल जस्तै आयो । ब्यवस्था उनकै लागि मात्र भयो, जसले दलाली गर्छ । प्रजातन्त्र हान्ने गोरु जस्तै सारै मात्तियो भन्दै खिन्न हुन्छन् साथी पूर्ण राई ।
संघीय गणतन्त्रको नेपाल भएको १५ वर्ष पुरा भइसक्यो । आँटा, पिठो, सिस्नु खाँदै हुर्केका लोर्के जवानहरु बिदेश बनाउनु खेदेको देख्दा दिक्क लाग्छ । सातुको शक्तिबाट निस्किएको शक्तिले देश धानिरहेको छ है भन्दै सत्य कुरा बोल्ने सत्यवादीहरु पराल सुकेको जस्तै सुकेर पनि लोर्केहरुलाई रोक्न सक्दैनन् । किनकि उनीहरुसँग देशको तालाचाबी भए पो हुन्थ्यो, चाबी त अर्कैसँग छ । के गर्ने बिचरा सत्यवादीहरु बोल्छन् मात्र ।
बाबा भन्दै पिजा अडरसँगै चुम्बन साटासाट गर्छन्, अंग्रेजी पढेका नयाँ पुस्ताका केटाकेटीहरु । नेपाली समाज छोड्दै पश्चिमा शैलीमा घुलित भैसकेको छ है भन्दै बग्रेल्ती उदाहरण सुनाउँछ साथी मनकुमार थापामगर । उनी थप्छन्,‘आजकल गर्लफ्रेन्डले प्रेमीलाई बाबा भन्छन् है
साथी ।’ आधुनिकता र परसंस्कृति ग्रहणको असर र प्रभावले चम्किदै सबैको प्रिय भएका पिजा संस्कृति हाम्रो लागि सामाजिकरण नयाँ पाटो
हो । इटालीबाट ह्वात्तै नेपाल छिरेको पिजा संस्कृतिले पहिलो कुरा खानामा नयाँ स्वाद थपेको छ भने दोस्रो यसले धेरैलाई व्यवसायिक बनाउनुको साथै रोजगारी पनि दिएको छ ।
यद्यपि सातुको व्यापक बजारीकरण हुनुपर्ने थियो तर त्यस्तो हुन सकेन । सातु बलमा विश्व घुमेर फर्केका लोर्केहरु पनि आफ्ना गर्लफेनलाई पिजा नै खुवाउने गर्छन् । पिजा जसले जसलाई खुवाए पनि यो अर्थतन्त्रको एक हिस्सा भइसकेको छ । पिजाले निर्माण गरेको आर्थिक क्रियाकलाप र व्यवसायिकताले राजस्व संकलनदेखि थोरै भए पनि आर्थिक क्रियाकलाप गर्नुको साथै नेपाली समाजलाई बिदेशी परिकारसँग घुलित गराइरहका छन् ।
यही नयाँ नयाँ आयमको सन्दर्भमा कुरा खोतल्दै गर्दा बदलिरहेको हाम्रो समाजलाई जुरुक्कै बोकेर स्पेनी सहरी संस्कृतिको शैलीमा युवायुवतीहरु प्रेमिल हुन थालिसकेको बुझाइ छ, युरोपका प्रायः सबै देश घुमेर फर्केका विनय सापकोटा । उनी थप्छन्, ‘यस्ता आधुनिक र प्रेमिल उदाहरण धेरै छन्, । जुन हाम्रो संस्कृति भन्दा बिल्कुल छाडा छ ।’
गर्लफ्रेन्ड दिन्छिन् पिजा बर्गर, आमा दिन्छिन् सातु । उता जनता भन्छ महँगी र भ्रष्ट्राचारलाई कसरी मासु रु मैले सातु र पिजामध्ये कुन तागतिलो छ भन्दै सातु र पिजाको भीडन्त गराउनु खोजेको होइन । यी दुइ परिकारमध्ये कुन पौष्टिक छ भन्दै भिन्नता देखाउनु खोजेको पनि होइन र यी दुइमध्ये एक खानु उत्तम छ भन्दै यसको विज्ञापन गर्न खोजेको पनि होइन । मैले त सातुसँग जोडिएको आर्थिक क्रियाकलाप र आइपर्ने नयाँ–नयाँ आर्थिक अप्ठ्यारोहरुसँग सामना गर्न सातुले खेलेको भूमिकालाई अलिकति कोट्याउनु खोजेको हुँ ।
त्यसैले आमाले सातु खुवाउँदा र गर्लफ्रेन्डले पिजा खुवाउँदा होस्, त्यसको भित्री बिषयबस्तु आर्थिक क्रियाकलापको उच्चतम नमुना हो । तसर्थ सातु देख्दामा सामान्य पिठो भए पनि यसले हाम्रो अर्थतन्त्रमा खेलेको भूमिका कुनै उद्योग धन्दाले गर्ने योगदान भन्दा कम छैन । अर्थतन्त्रलाई सन्तुलन कामय राख्न होस् या त घर चलाउन होस्, सातुले खेल्दै आएको भूमिका अति नै महत्वपूर्ण छ ।
घर चलाउने प्रसंगलाई कोट्याई रहँदा विदेशमा जस्तो बच्चालाई बयस्क नभएसम्म राज्यले हेर्ने भए पो हुन्थ्यो । यहाँ त बच्चा स्याहार्ने दायित्वबाट राज्य भाग्छ । बच्चाप्रति गर्नु राज्यको दायित्व शुन्य भएपछि सकारात्मक हुने कुरै भएन । सातु खाएर लक्का जवान भएका लोर्केहरु विश्वका कुनाकुनामा दिनरात मिहिनेत गर्छन् । हरेक परिवारको चाडपर्व, लुगाफाटा अप्ठ्यारा, सबै त्यही कुना कुनाबाट पुरा हुन्छ । हो त्यही भएर सातुको दम कम छैन भन्न कुनै संकोच छैन । आमाको सातु देश चलाउने औजार रहेको थाहा हुँदाहुँदै पनि ती लोर्केहरुलाई सातु खाँदै माक्र्सवाद, लेलिनवाद, माओवाद, माओवादी, साइनिङपाथ जस्ता विश्व बदल्ने वादहरुको हेक्का नभएको होइन, राम्रै ज्ञान छ ।
यति हुँदाहुँदै उनीहरु वर्ग संघर्षको लडाइँ लड्न विश्वका पुँजीपतिहरुको उद्योगमा कुना–कुना पुगेका छन् । हो, नेपालमा त्यही सातुले वर्ग संघर्षको लडाइँलाई लोकतान्त्रिक गणतन्त्रको मैदानमा पुर्याएको धेरै भएको छैन । हिजो सडकमा उर्ली उर्ली गाली ओकल्लने केही जवानहरु नयाँ संरचनामा व्यवस्थित भएका छन् भने अर्कोतर महँगी, भ्रष्टाचार र अनिमियता जस्ता दीर्घ रोगसँग लोर्केहरुले लड्न बाँकी छ । यति धेरै कामहरु बाँकी हुँदाहुँदै आफ्ना सन्ततिको भविष्य सुन्दर बनाउने सपनाले विश्वका कुना कुनामा संघर्ष गरिरहेका उनीहरु देश बनाउने सपना पनि उतिकै देख्छ्न्, जति सरकार देख्दैन ।
गतिशील पदार्थबाट नै सृष्टि र परिवर्तन भएको हो भन्ने आदर्शबाट प्रशिक्षित लोर्केहरु राज्यबाट खेदिएको शरणार्थीकै हालतमा छन् । विदेशिएका लोर्केहरुलाई स्वदेश फर्काउने कुरा गर्दैन सरकार । त्यसको सट्टा त्यही लोर्केहरुलाई विदेशबाट भोट हाल्ने ब्यवस्था कसरी मिलाउन सकिन्छ भन्दै विश्वका उदाहरण खोतल्दै नामर्दपना प्रदर्शन गर्दैछ सरकार ।
स्वदेश फर्किएर उत्पादनको नयाँ नयाँ क्षेत्रमा सहभागी गराउँदै दिगो विकासको माध्यमबाट देशको समस्या समाधान गर्ने उपायहरुको खोजीको सट्टा शरणार्थी क्यामबाट आएको पैसालाई राष्ट्रिय आम्दानीको राम्रो स्रोत भन्दै विश्व पुँजी बजारमा लम्पसार पर्न सरकार व्यस्त छ । त्यस्तै सरकार चलाउने पार्टीका ठिटा नेताहरु घट्टो घुमे जसरी विश्व घुम्छन् । त्यही लोर्केहरुलाई देश बिकासका सपना बाँड्छन् । तर जब देशभित्र छिर्छन्, कुनै नयाँ काम गरेको देखिदैन । उपलब्धि सून्य झैँ देखिन्छ । पिजाले सातुलाई जित्दै गएपछि खानपान अनि जीवनशैलीको मौलिकता हराउँदै गएको हो कि ?
रातोपाटीबाट