Breaking News

डा. बाबुराम भट्टराई पक्षले छुट्टै भेला बोलाउने तयारीमा : अबको राजनीति धारमा तीन विकल्प

१९ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को डा. बाबुराम भट्टराई पक्षले छुट्टै भेला बोलाउने तयारी गरेको छ । अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय कमिटी बैठक बोलाएको समय पारेर भेला गर्ने नेताहरुले बताएका छन् ।

पार्टीमा विवाद चलिरहेका बेला संघीय परिषद् अध्यक्ष डा. भट्टराई र कार्यकारिणी अध्यक्ष यादवबीच गत बुधबार भेट भएको थियो । तर त्यो भेटपछि जसपा फुट उन्मुख छ । अध्यक्ष यादवले मन्त्री हेरफेरको तयारी गरेका छन् भने यही २७ र २८ गते वीरगञ्जमा केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

भट्टराई पक्ष भने बैठकमा नजाने तयारीमा छ । डा. भट्टराई स्वयं अब उपेन्द्र यादवसँग मिलेर जान सकिन्न भन्ने निष्कर्षमा पुगेको नेताहरुले बताएका छन् ।

गोरखा काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा पार्टीमा देखिएको समस्याबारे लामो सम्बोधन गरेका भट्टराईले जसपामा उन्नत, समावेशी लोकतन्त्रको अभ्यास नभएको र सानो, क्षेत्रीय र त्यसमा पनि एउटा जातको पार्टी जस्तो बनेको बताएका छन् । उनले भने, ‘अब नयाँ अभियानमा अगाडि बढ्नुपर्छ । आवश्यक पर्दा एउटा भेला नै गरेर अगाडि जानुपर्छ भन्ने सोच छ ।’

‘गल्ती गरियो कि भन्ने लाग्दैन, ठीक समयमा ठीक सुरुवात गरेका थियौं । आज पनि आधारभूत रुपमा हामी आफ्नो सोचमा दृढ छौं,’ उनले भने । तर यो ६ वर्षको अवधिमा दुई ठूला गल्ती भएको भट्टराईको समीक्षा छ ।
सुरुवात ठीक थियो, तर गल्ती भयो

नयाँ संविधान जारी भएपछि माओवादी छाडेका भट्टराईले बनाएको नयाँ शक्ति पार्टीले २०७४ को चुनावमा भाग लियो । तर चुनावमाअपेक्षाकृत नजिता नआएपछि २०७६ मा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकता गर्‍यो । २०७७ वैशाखमा संघीय समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) सँग एकता भएपछि जनता समाजवादी पार्टी (जसपा) बन्यो । तर वर्ष दिन नपुग्दै यसमा फुट सुरु भयो । २०७७ साउनमा महन्थ ठाकुर समूह अलग भयो भने अहिले डा. भट्टराई नेतृत्वको अर्को समूह अलग हुने तयारीमा छ ।

भट्टराईले भने वैचारिक, दार्शनिक, सांगठिनक, कार्यक्रमका हिसाबले कांग्रेस, एमाले र माओवादीको विकल्प दिनुपर्छ भनेर थालेको अभियान सही भएको बताएका छन् । गल्ती गरियो कि भन्ने लाग्दैन, ठीक समयमा ठीक सुरुवात गरेका थियौं । आज पनि आधारभूत रुपमा हामी आफ्नो सोचमा दृढ छौं,’ उनले भने । तर यो ६ वर्षको अवधिमा दुई ठूला गल्ती भएको उनको समीक्षा छ ।

पहिलो गल्ती ः नयाँ शक्ति पार्टी गठन गर्नासाथ चुनावमा जानु गल्ती भएको भट्टराईले बताएका छन् । ‘नयाँ र वैकल्पिक शक्ति बनाउँदा विचारलाई जनतासँग जोड्न अभियानरसंघर्षबाट गुज्रिनुपर्थ्यो । जनताका मुद्दा उठाउने, राष्ट्रव्यापी संघर्ष चलाउने र त्यसको बलमा संगठन लोकतान्त्रिक छ भन्ने स्थापित गरेर मात्र चुनावी अभियानमा जानुपर्थ्यो । चुनावी अभियानमा गएपछि वैकल्पिक राजनीतिलाई स्थापित गर्न प्रयोग गर्नुपर्थ्यो’, डा। भट्टराईले भनेका छन्, ‘एक वर्षभित्र चुनाव आयो, हामी सोहोरिएर चुनावतिर दौडियौं । अहिले नै चुनाव जितिन्छ, अहिले नै सरकारमा पुगिन्छ भने जस्तो पर्‍यो ।’

पूर्वप्रधानमन्त्रीले नेतृत्व गरेको, विकास र समृद्धिको छवि भएको पार्टी राष्ट्रिय पार्टी बनिहाल्छ भनेर अनेकथरी मान्छेहरु आएको र आफूहरुलाई पनि भ्रम परेको भट्टराईले बताए । जित्छु भन्ने डंका पिटेर जानु र जित्नका लागि जोसँग पनि मिल्नु गल्ती भएको भन्दै उनले भने, ‘यसको मुख्य जिम्मेवारी मैले लिनुपर्छ, हामी सबैले लिनुपर्छ ।’

दोस्रो गल्ती स् सुरुमा संघीय समाजवादी फोरम र त्यसपछि राजपासँग एकता गर्दा पार्टीको आधार ठूलो भएपनि वैकल्पिक धारमा रुपान्तरण गर्न नसक्नु अर्को कमजोरी भएको उनले बताए । भट्टराईले भने, ‘मलाई पश्चाताप त छैन, तर केही गम्भीर त्रुटि भए ।’

वैकल्पिक राजनीतिक सोच राख्नेहरुको बाहुल्य नभएसम्म रुपान्तरण गर्न नसकिने भएपनि पार्टी एकता गर्दा बढी आदर्शवादी भएको उनले बताए । यसरी नै चल्ने हो भने जसपा यथास्थितिवादी अर्को एउटा शक्ति मात्र बन्ने भन्दै डा। भट्टराईले अघि भनेका छन्, ‘यसलाई लिएर गन्तव्यमा पुग्दैनौं । जुन खालको सोच छ, संरचना छ र जुन खालको प्रवृत्ति हावी छ, यही भित्र बसेर रुपान्तरण गर्न सक्ने म देख्दिनँ ।’

अब बाटो स् तीन विकल्प

जसपा संघीय परिषद् अध्यक्ष भट्टराईका अनुसार पार्टीका नेताहरुमा तीन खालको मनोविज्ञान छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको भर्‍याङ चढेर शिखरमा पुगेको पुस्ता, मन्त्री, सांसद भएर त्यहीँ बस्न चाहन्छ । आधा चढेको पुस्ता पनि त्यसबाटै अघि बढ्ने कि झरेर अर्को सिँढी चढ्न्ने भन्ने अलमलमा छ । नयाँ पुस्ता सिँढी चढ्न चाहन्छ, तर कसरी भन्ने प्रष्ट योजना छैन । उनले अघि भने, ‘यसले गर्दा कतिपयमा नहुने भयो, जताबाट आएका हौं, उतैतिर जाऔं भन्ने भाव पाउँछु ।’

वैकल्पिक र नयाँ ढंगले सामूहिक नेतृत्व र पारदर्शिता आफूहरुको बटम लाइन भएको उनले बताए । पुरानो पार्टीहरुमा त्यो सम्भव नभएको भन्दै भट्टराईले भने, ‘पुरानो भनेको पुरानो हुँदोरहेछ, चुनावी आधार क्षेत्र छ, ५र७ वटा सिट जितेको छ । अनि हामी नै नयाँ हो, हामी नै विकल्प हो भन्ने पर्दोरहेछ ।’

डा. भट्टराईले आजीवन वैकल्पिक राजनीतिको अभियानलाई छोडर नभाग्ने प्रतिवद्धता जनाएका छन् । यद्यपि अगाडि बढ्ने बाटोमा तीन वटा विकल्प सुनाए ।

पहिलो, कम्युनिस्ट घटकहरुले हिजोको जडतालाई छोडेर नयाँ ढंगले आउँछन् भने समाजवादी केन्द्र बनाउने । यसका लागि हिजो पनि प्रयत्न गरेको र अहिले पनि भइरहेको भन्दै उनले भने, ‘तर के हुन्छ भन्न सक्दिनँ ।’

दोस्रो, वैकल्पिक राजनीति भन्ने पक्षहरुसँग सहकार्य गरेर नयाँ धार सिर्जना गर्ने ।

तेस्रो, छुट्टै अस्तित्वसहित अभियान अघि बढाउने र अरुसँग सहकार्य गर्ने । भट्टराईले भनेका छन्, ‘यस्ता दुई तीनवटा बाटाहरु छन्, यसमा हामी खुला हुनुपर्छ । तर देशले नयाँ विकल्प खोजेको छ । यसमा हामीले आँट गर्नुपर्छ ।’