बरु एउटा चुनाव हार्न तयार, तर वाम गठबन्धनमा नलाग्ने केपी ओली प्रष्ट

असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ५ असारमा डा. सुरेन्द्र मानन्धर बालकोट
पुगे । १०बुँदे सहमतिपछि माधव नेपाल छोडेर एमालेमै बसेका मानन्धरलाई काठमाडौं केन्द्रित कुरा गर्न ओलीले आफ्नै निवास बालकोट बोलाएका थिए । ‘सञ्चो बिसञ्जोदेखि राजनीतिसम्म पुग्यौं । काठमाडौंमा एमालेले कसरी जित्ने भन्नेमा धेरै कुरा भयो’, मानन्धर भन्छन् ।

खुलेरै कुराकानी भएपछि मानन्धरले अध्यक्ष ओलीसँग पार्टीको अवस्थासहित व्यक्तिगत गुनासा पनि राखे । ‘०७० सालको चुनावमा मैले प्रचण्डको भन्दा धेरै भोट ल्याएँ । त्यसपछि त पार्टीबाटै किनारामा धकेलिएँ’, ०७४ को चुनावमा काठमाडौं–१० माओवादी केन्द्रको भागमा पारिनु गलत भएको डा. मानन्धरले तर्क गरेका थिए ।

उनको अर्को प्रश्न थियो, ‘पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य म, दशौंमा किन हटाइएँ ? ’ नवौं महाधिवेशनमा केन्द्रीय सदस्य चयन हुन नसकेकाहरू समेटिँदा आफूलाई केन्द्रीय सदस्यको उम्मेदवारी समेत फिर्ता लिन लगाइएको डा. मानन्धरले बताए । चितवन महाधिवेशनमा ओलीको सूचीमा पर्दै काठमाडौंकै कृष्णगोपाल श्रेष्ठ, रामेश्वर फुयाँल, कृष्ण राई, अजय क्रान्ति र केशव स्थापित केन्द्रीय सदस्य बने । तर १० प्रतिशत मनोनयनबाट केन्द्रीय सदस्य बनाउने सहमतिमा डा. मानन्धरले उम्मेदवारी फिर्ता लिएका थिए ।

डा. मानन्धरले चित्त बुझाउने गरी जवाफ नदिएका ओली ‘त्यो राजनीतिक कुरा हो’ भनेर पञ्छिए । किनकि मानन्धरलाई बालकोट बोलाउनुको प्रयोजन नै अर्कै थियो । ‘काठमाडौंमा जित्ने गरी लाग्नुस् भन्नुभयो, यति हो’, मानन्धर भन्छन् ।

गएको ३० वैशाखमा सम्पन्न स्थानीय चुनावमा काठमाडौं महानगर, कीर्तिपुर नगरपालिकासहित एमालेले काठमाडौंका १० मध्ये ८ स्थानीय तहको नेतृत्व गुमाएको छ । ०७४ को चुनावमा भने एमालेले काठमाडौं महानगरसहित ६ मेयर र ७ उपमेयर जितेको थियो । यसपटक टोखा र बुढानिलकण्ठ नगरपालिका मात्रै जित्यो ।

गठबन्धनविरुद्ध चमत्कार गर्ने एमालेको दाबी बिपरीत गैरदलीय उम्मेदवार बालेन्द्र शाहले काठमाडौं महानगरको मेयर जिते । बाँकी स्थानीय तहमा पनि एमाले उम्मेदवार पराजित भएपछि अध्यक्ष ओलीले काठमाडौंका नेताहरुसँग अनौपचारिक सम्वाद बढाएका छन् । त्यसैक्रममा मानन्धरलाई पनि बोलकोट बोलाइएको ओली निकट एक नेता बताउँछन् । ‘संघ र प्रदेशको चुनाव आउँदैछ । तयारी त बढाउनु पर्‍यो’, ती नेता भन्छन् ।

नेतृत्वसँग असन्तुष्ट मानन्धरजस्तै अरु नेतासँग पनि सम्वाद बढेको ती नेता बताउँछन् । ‘गठबन्धनले हामीविरुद्ध निर्मम प्रहार गरिरहेको छ । यस्तो बेला पार्टीभित्रै तिक्तता राखेर सधैं रहने अवस्था त हुन दिनु भएन’, उनी भन्छन् ।

सम्भावित राजनीतिक समीकरण र नतिजाको विश्लेषण गरेरै अध्यक्ष ओलीले कसैसँग चुनावी गठबन्धन नगर्ने निष्कर्षमा पुगेका हुन् । स्थानीय चुनावको नतिजा सार्वजनिक भएको लामो समय मौन रहेका ओली त्यस्तो निष्कर्षमा पुग्नुमा भने कांग्रेस नेतृत्वको गठबन्धन तोड्न नसक्नु मूख्य कारण हो ।

पार्टीभित्र इतर समूहमा रहेकै कारण लामो समय किनारामा पारिएका, राजकीय अवसरबाट बञ्चित गरिएका र पार्टी भूमिकाविहीन बनाइएका नेताहरुसँग समेत सम्वाद हुनुको कारण भने ओलीले आगामी चुनावबारे निकालेको निष्कर्ष हो । ‘आउने चुनाव पनि एक्लै लड्नुपर्छ भन्ने नै अहिलेसम्मको अवस्था हो । त्यसो हुँदा पार्टीभित्रको एकता थप सुदृढ बनाउन पनि अध्यक्ष कमरेडको प्रयत्न होला’, एमालेका एक पदाधिकारी भन्छन् ।

अन्तर्घातकै कारण ८८ स्थानीय तह गुमाउनु परेको एमाले अध्यक्ष ओलीले सार्वजनिक मतन्व्यमै भनेका छन् । थोरै मतान्तरले पराजित भएको स्थानीय तहमा अन्तर्घातको असर परेको निष्कर्ष उनी निकट नेताहरुले निकालेका छन् । तर सचिवालय बाहेक अन्य बैठक नबसेकाले एमालेको थप निर्णय भने हुन सकेको छैन । स्थानीय चुनाव सकिएको एक महिनापछि ३० जेठमा सचिवालयको बैठक बसेको थियो । त्यसबाहेक स्थायी कमिटी, पोलिट्ब्यूरो र केन्द्रीय कमिटी बैठक बोलाइएको छैन । ‘तत्काल कुनै पनि बैठक बस्दैन होला, केपी कमरेडको संकेत त्यस्तै छ’, ती पदाधिकारी भन्छन् ।

ओली भने आगामी चुनावको मोडालिटीबारे प्रष्ट देखिन्छन् । ‘एमाले कसैलाई बोकेर वा कसैको साहरा लिएर चुनावमा जाँदैन भन्नेमा केपी ओली प्रष्ट हुनुहुन्छ, हामी एक्लै चुनावमा जान्छौं’, एमाले प्रमुख सचेतक विशाल भट्टराई भन्छन् । स्थानीय चुनाव पराजयको निष्कर्ष, बालकोटमा बाक्लिएको भेटवार्ता र नेताहरुको अभिव्यक्तिले पनि गठबन्धनविरुद्ध एमाले एक्लै चुनावमा जाने तयारीमा रहेको अनुमान गर्न सकिन्छ ।

वाम गठबन्धनको दबाव

अध्यक्ष ओली कसैसँग गठबन्धन नहुने अडानमा देखिदा एमालेको ठूलो पंक्ति भने वाम गठबन्धनको पक्षमा छन् । ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने काम प्रतिपक्षमा बसेर हुँदैन । चुनाव जित्नेगरी तयारी हुनु राम्रो हो’, केन्द्रीय सदस्य गणेश पहाडी भन्छन् । उनीजस्तै प्रत्यक्ष निर्वाचित सांसदहरू अहिलेको गठबन्धन तोडेर अगाडि बढ्नुपर्ने पक्षमा छन् । ‘वाम गठबन्धन हुँदा चुनौती कम हुन्छ, त्यसो हुँदा अहिलेकै गठबन्धन भत्काउनुपर्छ’, पहाडी भन्छन् ।

०७४ को चुनावबाट एमाले एक्लैले झण्डै बहुमत ल्याउनुमा पनि वाम गठबन्धनको सहजताले काम गरेको उनी
बताउँछन् । समानुपातिक तर्फ नेपाली कांग्रेस भन्दा एक सिट मात्रै बढी ९एमाले ४१, कांग्रेस ४० सिट० जितेको एमालेले प्रत्यक्षतर्फ ८० सिट जित्नुमा माओवादी केन्द्रसँगको गठबन्धनले बल पुगेको थियो । माओवादीले पनि एमालेसँगको गठबन्धनकै कारण समानुपातिक तर्फ १७ सिट मात्रै जितेपनि प्रत्यक्षतर्फ ३६ सिट जितेको थियो । त्यसैले पनि सकेसम्म वाम गठबन्धनमा जोड दिनुपर्नेमा ठूलो संख्याका सांसदहरुबीच मतैक्य छ ।

प्रतिनिधिसभाका मात्रै नभएर राष्ट्रियसभाका अधिकांश सांसदहरू पनि वाम गठबन्धनको पहलकदमी लिनुपर्ने पक्षमै
छन् । बिहीबार प्रमुख सचेतक खिमलाल भट्टराईको अग्रसरतामा एमाले सांसदहरु अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका राष्ट्रियसभा सांसदहरूले पनि चुनावी गठबन्धनबारे चासो राखेका थिए । तर अध्यक्ष ओलीले भने एक्लैले जित्नेगरी तयारी गर्न निर्देशन दिए ।

यसपटकको स्थानीय चुनावमा एमाले दोस्रो शक्तिमा खुम्चिएकाले पनि नयाँ गठबन्धनको पहल लिन आवश्यक रहेकोमा एमाले नेताहरुको जोड देखिन्छ । ०७४ को चुनावमा ७५३ मध्ये २९४ स्थानीय तह जितेर पहिलो बनेको एमालेले यसपटक २०५ स्थानीय तह मात्रै जितेको छ । शहरी क्षेत्रमा धेरै ठाउँ हारेको छ । गठबन्धनले साझा उम्मेदवारी दिएको ६ महानगर मध्ये एमालेले एउटै पनि जित्न सकेन । एघारमध्ये तीन उपमहानगर मात्रै एमालेले जितेको छ । अघिल्लो पटक सात उपमहानगर जितेकोमा यसपटक तुलसीपुर, घोराही र कलैया मात्रै जितेको छ ।

तर अध्यक्ष ओलीलाई सहमत गराउन सक्ने सामर्थ्य भने वाम गठबन्धनको चाहना राख्ने नेताहरुमा देखिँदैन । जबकी पदाधिकारी, केन्द्रीय सदस्य, सांसददेखि तल्ला तहका नेताहरु पनि अहिलेकै गठबन्धन कायम रहे आउने चुनाव जित्न कठिन पर्नेमा प्रष्ट रहेको एक नेता बताउँछन् । ‘एमाले एक्लै चुनाव लड्नुपर्छ भन्ने केपी ओलीको मतलाई महासचिव शंकर पोखरेलको बलियो साथ छ’ ती नेता भन्छन्, ‘कतिपय पदाधिकारी त माओवादी र एकीकृत समाजवादीका नेताहरुसँग सम्वादमा पनि हुनुहुन्छ ।’

महासचिव पोखरेल बाहेक उपमहासचिव प्रदीप ज्ञवाली वाम गठबन्धन नगरिने अध्यक्ष ओलीको मतको रक्षार्थ उभिएका छन् । ओली प्रधानमन्त्री हुँदा सचिवालयमा बसेकाहरू भने एमालेले आउने चुनाव पनि जित्ने तथ्य जुटाउनेमा छन् । सिट संख्या कम आए पनि स्थानीय चुनावले एमालेलाई पहिलो शक्तिका रुपमा अनुमोदन गरेको तथ्याङ्क तिनै नेताहरुले संकलन गरेका हुन् । स्थानीय चुनाव अगाडि पनि नयाँ र युवा मतदातामध्ये ७० प्रतिशतमा केपी ओली लोकप्रिय रहेको, विभाजनको क्षति माओवादीबाट आएका नेताहरुबाट पूर्ति भएको, पार्टी प्रवेशको लहर चलेको लगायत तथ्य उनीहरुले नै संकलन गरेका थिए । एमाले अध्यक्ष ओलीले समेत स्थानीय चुनावमा गठबन्धनविरुद्ध ७० प्रतिशत सिट जित्ने दावी सार्वजनिक गरेका थिए ।

बलियो बन्न एक्लै लड्ने 

स्रोतका अनुसार, सम्भावित राजनीतिक समीकरण र नतिजाको विश्लेषण गरेरै अध्यक्ष ओलीले कसैसँग चुनावी गठबन्धन नगर्ने निष्कर्षमा पुगेका हुन् । स्थानीय चुनावको नतिजा सार्वजनिक भएको लामो समय मौन रहेका ओली त्यस्तो निष्कर्षमा पुग्नुमा भने कांग्रेस नेतृत्वको गठबन्धन तोड्न नसक्नु मूख्य कारण हो ।

‘भर्खरै फुटेर गएका प्रचण्ड र माधव नेपालसँग फेरि गठबन्धन गर्न सजिलो छैन । कांग्रेस पनि गठबन्धन जोगाउनेमा प्रतिबद्ध देखियो’, ओली निकट स्रोत भन्छन् । अध्यक्ष ओलीले यो गठबन्धन तोड्ने प्रयत्न भने गरेका थिए । गएको १५ फागुनमा अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदनका निम्ति सहयोग माग्न बालकोट पुगेका प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा सहितका नेताहरुलाई ओलीले गठबन्धन तोड्नुपर्ने सर्त राखेका थिए ।

गठबन्धन कायमै रहेपछि भने स्थानीय चुनावको जनादेशले राजनीतिक समीकरण बदलिने ओलीको भनाइ थियो । उनले ‘असार १७ गते देउवाको कस्तो दिन छ भन्ने भविष्यबाणी ज्योतिषले गर्नुपर्ने’ समेत बताएका थिए । तर स्थानीय चुनावमा गठबन्धन गरेका सबै दललाई राम्रै फाइदा भएकाले अब नयाँ समीकरण सजिलो नहुने बुझाइमा पुगे । यदि वाम गठबन्धन भइहाले पनि ०७४ को जस्तो नतिजा नआउने बुझाइले पनि एक्लै लड्ने मनोविज्ञान ओलीले बनाएका छन् । स्थानीय चुनावमा गैरदलीय र युवा उम्मेदवारतर्फ मतदाताको आकर्षण देखिएकाले पनि त्यस्तो मनोविज्ञान निर्माणमा बल पुगेको बुझ्न सकिन्छ ।

गठबन्धनले पार्टी र सिद्धान्त बन्दैन भन्ने सैद्धान्तिक तर्कको व्याख्या भने महासचिव पोखरेलले गरिरहेको प्रमुख सचेतक भट्टराई बताउँछन् । ०७४ को चुनावमा गठबन्धन बनेर सरकार बनाउँदा पनि पार्टी बलियो नभएको नजीरले पनि एमाले एक्लै प्रतिश्पर्धामा उत्रने तयारीमा जुटेको उनी बताउँछन् । तर एमालेका निम्ति सत्ताको ढोका भने चुनावपछि पनि खुला नै रहने विश्वासमा ओली र उनी निकट नेताहरु छन् । ‘कांग्रेस एक्लैले बहुमत नल्याउना साथ जुनसुकै बेला एमालेका निम्ति सत्ताको ढोका खुल्छ । त्यसैले बरु एउटा चुनाव हार्न तयार हुने, तर वाम गठबन्धनको तनावतिर नलाग्नेमा केपी ओली प्रष्ट हुनुहुन्छ’, ओली निकट एक पदाधिकारी भन्छन् ।

अनलाइनखबरबाट