नेपाली उसु खेलाडी नीमा घर्तीमगर र दीपक हमालले वल्र्ड गेम्स २०२२ मा प्रतिस्पर्धा गर्ने भएका छन् । जुलाई ७ देखि १७ तारिखसम्म अमेरिकाको ब्रमिङ्घमको अलाबामामा हुने प्रतियोगितामा नेपालबाट नीमा र दीपकले प्रतिस्पर्धा गर्न लागेका हुन् ।
नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता नीमा र दीपक आयोजकबाटै छनोट भएको नेपाल उसु महासंघले जनाएको छ ।
उनीहरुले अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र विश्व वरीयताका आधारमा विश्व उसु महासंघ र वल्र्ड गेम्स फेडरेसनले छनोट गरेको नेपाल उसु महासंघका महासचिव लाक्पाछिरिङ लामाले जानकारी दिए । ‘वल्र्ड गेम्समा दक्षिण एसियाका नेपाल र भारत मात्रै छनोट भएका छन् । उसुमा भारतले एउटा कोटा पाउँदा नेपालले भने दुई वटा कोटा पाएको छ’, महासचिव लामाले भने, ‘यो हाम्रा लागि गौरवको विषय हो ।’