राजनीतिक दलहरू आगामी वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा होमिएका छन् । सत्तारुढ पाँचदलीय गठबन्धन साझा उम्मेदवारसहित चुनावी मैदानमा होमिने तयारी गरिरहेको छ । नेकपा (एमाले) पनि कमल थापा नेतृत्वको राप्रपा नेपाल र एकनाथ ढकाल नेतृत्वको परिवार दलसँग चुनाव चिह्न नै शेयर गरेर निर्वाचनमा जाँदै छ ।
राजनीतिक परिवर्तनमा अहं भूमिका खेलेका शक्ति एक ठाउँमा उभिएका छन् भने परिवर्तनका लागि भएको आन्दोलन दबाउने र खिसिट्युरी गर्नेहरू अर्को कित्तामा उभिएका छन् । केपी शर्मा ओलीले प्रतिगामी कित्ताको नेतृत्व गरेपछि एमालेमा चरम असन्तुष्टि छ । एमालेभित्रका सचेत नेता तथा कार्यकर्ताले विद्रोह गरिरहेका छन् । ती मध्येका एक हुन् भास्कर काफ्ले । ओलीकै गृह जिल्ला झापाका स्थायी बासिन्दा काफ्लेले ओलीलाई संसदीय निर्वाचनमा हराउने अठोटसहित एमालेबाट विद्रोह गरेका छन् । काफ्लेसँग दृष्टिले गरेको कुराकानी प्रस्तुत यहाँ गर्न चाहन्छौं :
१० बुँदे सहमतिपछि तपार्इं नेकपा (एमाले) मै बस्नुभएको थियो । अहिले किन विद्रोह गर्नुभयो ?
१० बुँदे सहमतिपछि म नेकपा (एमाले)को १०औँ महाधिवेनमा चितवन गएँ । १० बुँदे सहमतिअनुसार अघि बढ्नुको साटो केपी शर्मा ओली व्यक्तिवादी, निरंकुश, सामन्ती र तानाशाही ढंगले प्रस्तुत भए । ओलीले कम्युनिष्ट पार्टीको विचार, सिद्धान्त र जनताको बहुदलीय जनवाद (जबज)लाई तहस नहस पारे । ओलीको व्यक्तिवादलाई चुनौती दिँदै मैले प्रदेश १ बाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएँ । मलाई भोट नदिन ओलीले चिट मात्रै बाँढेनन्, राति नै होटलबाट खेद्न लगाए । ओलीका आसेपासेले मलाई भेटेको भए के गर्थे थाहा छैन । ओलीलाई ‘बा’ भन्दै चाकरी नगर्नेहरू एमालेमा अटाउन नसक्ने अवस्था भएपछि मैले विद्रोह गरेको हुँ ।
भनेपछि एमालेमा १० बुँदेवालाको विजोग छ ?
म अहिले नाम लिन चाहन्नँ । उनीहरू (१०बुँदेपक्षधर) को भूमिका अहिले एमालेमा शून्य छ । उनीहरू चिच्याइरहेका छन्, कराइरहेका छन् । तर, ओलीले उनीहरूको आवाज सुनिरहेका छैनन् । घनश्याम भुसालले कम्युनिष्टहरूबीच एकता हुनुपर्छ भन्ने प्रस्ताव नै राखेका छन् ।
कम्युनिष्ट आन्दोलन ध्वस्त पार्ने कसम खाएका ओलीले भुसाललाई जवाफ दिएका छैनन् । ‘बा’ प्रवृत्तिबाट अगाडि बढेका ओलीले इमान्दार नेता तथा कार्यकर्ताको आवाज सुन्दैनन् । चुनावमा टिकट पनि कसले बढी चाकरी गर्छ उसैलाई दिन्छन् । ओलीले पार्टीको महाधिवेशनका साथै जनसंगठनका अधिवेशनमा पनि चाकरी गर्नेलाई नै जबरजस्ती नेतृत्वमा ल्याएका छन् । आगामी वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि पनि ओलीले ठाँडो निर्देशन दिएर ‘बा’ भन्नेलाई मात्र टिकट दिँदै छन्, हेर्नुहोला ।
एमालेमा नेता तथा कार्यकर्ताको कामको मूल्याङकन हुन छाडेकै हो त ?
कम्युनिष्ट आन्दोलनका लागि १७ वर्ष जेल बस्ने मोहनचन्द्र अधिकारी, नरेश खरेलहरूलाई पाखा लगाएका ओलीले दुर्गा प्रसाइँजस्ता मेडिकल माफियालाई बोकेर हिडेका छन् । कसले बढी चाकरी गर्यो भन्ने हिसावले एमालेमा मूल्याङकन हुन थालेको छ । त्यहीकारण पनि एमालेबाट दिनप्रतिदिन विद्रोह गर्नेको संख्या बढ्दै गइरहेको छ । एमालेका इमान्दार नेता तथा कार्यकर्ता फरक विचार, सिद्धान्त र दृष्टिकोणको आधारमा नेकपा (एकीकृत समाजवादी)मा छन् ।
ओलीले धनाढ्य, विचौलिया, माफियाहरूलाई एमालेमा भित्र्याउने र उनीहरूलाई नै पार्टीको बागडोर सुम्पन थालेपछि त्याग र तपस्या गरेर स्थापित भएका नेता तथा कार्यकर्ताको मन कुँडिएको छ । छिमेकी देश भारतमा कम्युनिष्ट पार्टीलाई पुँजीवादी प्रवृत्तिका धनाढ्यहरू प्रवेश गरेर समाप्त पारेजस्तै अवस्थामा एमाले पुगेको छ । दक्षिणपन्थी, विसर्जनवादी बाटोमा हिडेको एमाले अब कम्युनिष्ट पार्टी रहेन । विचारविहीन, सिद्धान्तविहीन ढंगले अगाडि बढेको एमालेले कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्न सक्दैन । त्यस्तो पार्टीमा कामको मूल्याङकन हुने कुरै भएन ।
एमाले त जबजअनुसार अगाडि बढिरहेको दाबी गर्छ नि ?
जनननेता स्व. मदन भण्डारीले प्रतिपादन गरेको ‘जबज’मा संविधानको सर्वोच्चता भनिएको छ । तर, ओलीले दुई–दुई पटक असंवैधानिक रुपमा संसद विघटन गरेर जबजको खिल्ली उठाउने काम गरे । एमाले अहिले जबजमा होइन ओलीको चाकरीमा आधारित भएर चलेको छ । ओलीको भक्तिभाव गाउने, दिनैपिच्छे ‘बा’ भन्दै बालकोट धाउनेको कब्जामा एमाले छ । अहिले त एमालेको सूर्य चिह्न नै कमल थापाहरूको भइसकेको छ ।
एमालेले कमल थापालाई प्रयोग गर्दै छ कि कमल थापाले एमालेलाई ?
जतिबेला हामी राजतन्त्रको विरुद्धमा सडकमा गणतान्त्रिक आन्दोलनमा थियौँ, त्यतिबेला कमल थापा जनआन्दोलन दबाउन गोली चलाउँदै थिए । तिनै थापासँग आज एमालेले सहकार्य गरेको छ । यसले ओली दरवारीया हुन भन्ने पुनः पुष्टि गरेको छ । ओली लोकतन्त्र र संघीयताका पक्षपाती होइनन् । उनी कहिल्यै परिवर्तनको पक्षमा थिएनन् । त्यही कारण उनले परिवर्तन विरोधीहरूसँग साँठगाँठ गरिरहेका छन् ।
ओली र थापाको एउटै उद्देश्य अहिलेको व्यवस्थालाई समाप्त पार्नु नै हो । उनीहरू अनेक आवरणमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सिध्याउने षड्यन्त्रमा छन् । विगतमा ओलीले बयलगाडा चढेर अमेरिका पुग्नु र नेपालमा गणतन्त्र आउनु एउटै हो भन्दै गर्दा कमल थापाले तत्कालीन राजाको गृहमन्त्रीको रुपमा जनआन्दोलन दबाउन गोली चलाउँदै
थिए । ओली र थापाको अहिले घाँटी जोडिनु परिवर्तनलाई उल्ट्याउने दुस्प्रयास हो । प्रतिगामी शक्तिका मतियार ओली कहिल्यै कम्युनिष्ट पार्टीको नेता हुन सक्दैनन् ।
कम्युनिष्ट आन्दोलनका लागि १७ वर्ष जेल बस्ने मोहनचन्द्र अधिकारी, नरेश खरेलहरूलाई पाखा लगाएका ओलीले दुर्गा प्रसाइँजस्ता मेडिकल माफियालाई बोकेर हिडेका छन् । कसले बढी चाकरी गर्यो भन्ने हिसावले एमालेमा मूल्याङकन हुन थालेको छ । त्यहीकारण पनि एमालेबाट दिनप्रतिदिन विद्रोह गर्नेको संख्या बढ्दै गइरहेको छ ।
ओलीलाई यो व्यवस्था समाप्त गर्नुपर्ने कारण के हुन सक्छ ?
नेपालको राजनीतिमा ओलीको भूमिका देश र जनताको पक्षमा कहिल्यै भएन । व्यक्तिगत स्वार्थका लागि ओली जे पनि गर्न तयार हुन्छन् । ओलीले यो व्यवस्था र कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने प्रण गरेका छन् । २०४७ सालमै ओलीले तत्कालीन राजालाई कम्युनिष्ट पार्टीलाई सिध्याउनुपर्छ, म सहमति गर्न आउँछु, मलाई स्थान दिनुपर्छ भनेर प्रस्ताव गरेका रहेछन् । मदन भण्डारीको हत्याको छानबिन गर्ने समितिमा ओली नै थिए । मदनपत्नी विद्या भण्डारी अहिले राष्ट्रपति छन् । किन छानबिन हुन सकेन ? जबजको भजन गाएर मात्रै हुन्छ ? मदनले भनेजस्तै ‘कुरोले च्यूरा भिज्दैन, च्यूरा भिजाउन दही, दूध वा मोही चाहिन्छ, केही नभए पानीले पनि भिजाउनुपर्छ ।’
माओवादीसँगको एकता किन टिक्न सकेन ?
ओलीले व्यक्तिगत स्वार्थ पूरा गर्न छापामार छैलीमा माओवादी केन्द्रसँग एकता गराएका थिए । एमालेमा पार्टी एकता गर्ने विषयमा वृहत छलफल, बहस नभइ प्रधानमन्त्री भइहाल्ने लोभले हतारहतार एकता गराए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आधा–आधा कार्यकाल प्रधानमन्त्री बन्ने गोप्य सम्झौता नै गरेका थिए । त्यो पनि पछि मात्रै थाहा भयो । आफ्नो स्वार्थअनुसार नहुने भएपछि ओली नै नेकपा विभाजनको पक्षमा उभिए । अदालतले पार्टी विभाजनको फैसला गर्दा ओलीले दीपावली नै गरेका थिए । ओली कम्युनिष्ट आन्दोलनलाई क्षतविक्षत गरिरहेका छन् । ओलीले भनेका थिए, ‘भ्यागुताले भुँडी फुलाउँदै गयो, फुलाउँदै गयो, पछि भुँडी फुट्यो ।’ ओलीको भुँडी फुटिसकेको छ । आन्द्राभुँडी सबै छरिएका छन् ।
सत्तारुढ गठबन्धनले केही काम गर्न सकेन, अर्थतन्त्र ध्वस्त बनायो भन्ने आरोप ओलीको छ नि ?
अर्थतन्त्र आज जुन ढंगले ओरालो लागेको छ, त्यसको मुख्य कारक ओली नै हुन् । मैले पाएको रिपोर्ट अनुसार एक करोडभन्दा बढीका २५ हजार गाडीहरू ओली सरकारले खरिद गरेको छ । त्यसबाट कमिसन खाएका छन्, भ्रष्टाचार गरेका छन् । बजेटको व्यवस्था नै नगरी अनावश्यक रुपमा ओलीले विकासे आयोजनाहरू शिलान्याश गर्दै हिडेका थिए । शिलान्याश गर्दैमा हुन्छ भने ७५३ वटै पालिकामा एयरपोर्टको उद्घाटन गरे भइगो त ।
के त्यो नेपाललाई आवश्यकता हो र ? ओलीले अफवाह फैलाउने बाहेक केही काम गरेका छैनन् । ओलीकै कारण हास्यकलाकार पनि विस्थापित हुने अवस्था आइसक्यो । अवसरवादी ओली कम्युनिष्ट आन्दोलनका कलंक हुन् । ओलीको चरित्र सामन्ती, हावादारी र व्यक्तिवादी हो । यही चरित्रका कारण ओली आगामी निर्वाचनमा सर्वनाक हुन्छन । ओली त समाप्त हुन्छन नै, उनले नेपाली कम्युनिष्ट आन्दोलनलाई पनि समाप्त पार्न खोज्दै छन् । एमालेभित्रका इमान्दार कार्यकर्ताले बेलैमा सोच्नुपर्ने बेला आएको छ ।
ओली त फेरि दुईतिहाइको धाक दिइरहेका छन् ?
ओलीको फुर्ती त नेपाल बार एसोशिएसनको चुनावमा देख्नुभयो नि । एमाले समर्थित केहीले त जित्छन् होला भन्ने थियो । तर, विशाल मतान्तरले एमाले समर्थित सबै उम्मेदवार पराजित भए । यो त एउटा उदाहरण मात्रै हो । एमालेमा विद्रोह भएपछि हरेक मोर्चामा ओली असफल हुँदै आएका छन् । कुनै पनि चुनावी मोर्चामा एमालेले जित्न सकेको छैन । एमालेमा त अब बिस्फोट हुन मात्रै बाँकी छ । गठबन्धन एक ठाउँमा उभिइसकेपछि नेपालमा एमाले अब पत्तासाफ हुन्छ । त्यहीकारण ओलीले गठबन्धन फुटाउने कोसिस जारी नै राखेका छन् ।
तपाईं र ओलीको गृहजिल्ला एउटै (झापा) । झापाको स्थिति चाहिँ कस्तो छ ?
आगामी संसदीय निर्वाचनमा ओलीसँग म चुनाव लड्दै छु । २०६४ मा ओली पनि हारेका हुन्, म पनि हारेको हुँ । अब ओली र मेरोबीचमा प्रतिष्पर्धा हुन्छ । ओली पहिला झापा क्षेत्र नं. ५ बाट चुनाव लडेका थिए । अहिले क्षेत्र नं. २ मा आउँदै छन् रे । ओलीसँग भिड्न म क्षेत्र नं. ५ मै जाने पक्षमा थिएँ । मेरै क्षेत्रमा ओली आउने भएपछि झन् मलाई सजिलो हुने
भयो । हेर्नुहोला, ओलीलाई झापामा मै चुनाव हराउँछु ।
झापामा स्थानीय तहको स्थिति चाहिँ कस्तो छ ?
स्थानीय तहमा नेकपा एमालेका इमान्दार कार्यकर्ताले एकीकृत समाजवादीलाई भोट हाल्छन । परिवर्तनविरोधी ओलीलाई परिवर्तनकारी झापाली मतदाताले भोट हाल्ने छैनन् । झापाको १५ वटै स्थानीय तहमा गठबन्धन दलका साझा उम्मेदवारी विजयी हुन्छन । एमाले पत्तासाफ हुन्छ ।
एमाले, राप्रपा नेपाल र परिवार दलको समीकरणले केही फरक पर्छ कि ?
एमालेको १०औँ महाधिवेशनमा राप्रपाका तत्कालीन अध्यक्ष कमल थापाले ओलीको कार्यकर्ता जसरी भाषण गरेका थिए । राजेन्द्र लिङदेनसँग चुनाव हारेपछि चरित्र मिल्ने ओलीसँग थापा नजिक भए । झापा कम्युनिष्ट आन्दोलनको झिल्को हो । कम्युनिष्ट आन्दोलनको क्रममा सुखानीमा ५ जना शहीद भए । रामनाथ दाहालले ओलीलाई घाँस काट्न राखेका थिए । पछि रामनाथ दाहाल शहीद भए । तर, ओलीले रामनाथ दाहालको नाम कहिल्यै लिएनन् ।
ओली उखान–टुक्कामै रमाउँछन् । धर्मको नाममा राजनीतिक व्यापार गर्नेहरूको गठजोरले माखो मार्न सक्दैन । किनकि, ओलीको षडयन्त्र जनताले बुझिसकेका छन् । देशलाई अस्थिरतातिर धकेलेर प्रतिगामी शक्तिलाई फेरि स्थापित गर्न ओलीले असंवैधानिक रुपमा दुई–दुई पटक संसद विघटन गरेकै हुन् । त्यतिले पनि नपुगेर अहिले पनि ओलीले संसदमा निरन्तर अवरोध गरिरहेका छन् ।
एकीकृत समाजवादीले कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्न सक्छ त ?
हामी इमान्दारपूर्वक लागेका छौँ । विचार र दृष्टिकोणका हिसावले एकीकृत समाजवादी नै अब्बल राजनीतिक शक्ति हुन्छ, त्यसका लागि समय लाग्ला । एमालेभन्दा माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी हजारौँ गुणा अगाडि छ । अन्ततः सत्यकै जित हुन्छ ।
कांग्रेससँग मिलेर कम्युनिष्ट आन्दोलनको रक्षा हुन्छ ?
हरेक परिवर्तनको आन्दोलनमा नेपालका कम्युनिष्ट र कांग्रेस मिलेको इतिहास छ । राणा शासन, पञ्चायती व्यवस्था, निरंकुश राजतन्त्र मात्र होइन, व्यवस्था सक्ने गरी अगाडि बढेका केपी ओलीलाई सत्ताच्युत गराउन पनि कम्युनिष्ट र कांग्रेस मिलेकै कारण सम्भव भएको हो । ओली फेरि पनि प्रतिगमनको टाउको उठाउन खोज्दै छन् । प्रतिगामीहरूसँग साँठगाँठ गरेर अगाडि बढ्न खोज्दै छन् । त्यसकारण कम्युनिष्ट र कांग्रेसको एकता राष्ट्रको आवश्यकता हो, जनताको चाहना हो । हामी अहिले समाजवादी अभियानमा छौँ । ओलीभन्दा कांग्रेस प्रगतिशील छ ।