पूर्व पञ्चहरुसँगको गठबन्धनतर्फ एमाले

काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा नेकपा एमाले प्रतिगामी गठबन्धनतर्फ अग्रसर बन्दैछ । वाम, प्रगतिशील तथा लोकतान्त्रिक खेमाका राजनीतिक दलहरु पाँच दलीय गठबन्धनका साथ तिनै तहको निर्वाचनमा मिलेर जाने विषयमा एकमत भएपछि प्रमुख प्रतिपक्षी एमालेले आफ्नो चुनावी सहयात्रीका रुपमा हिजोका राजतन्त्र पक्षधर तथा राष्ट्रिय राजनीतिका प्रतिगामी पात्रहरूलाई आफू नजिक ल्याइरहेको छ ।

२०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेसवादी दलहरुको घेराबन्दीमा पर्दा पनि पार्टी एक ढिक्का हुनुका कारण बहुसंख्यक स्थानीय तहमा एमालेले आफ्नो वर्चस्व स्थापित गरेको थियो । तर, त्यही बहुमतको दम्भले केपी शर्मा ओलीमा सवार अहंकारी प्रबृत्तिका कारण अहिले पार्टी विभाजित छ । पार्टीका योग्य, इतिहास भएका र जनप्रिय नेताहरुले अलग पार्टी निर्माण गरेका कारण एमालेका निम्ति यसपटकको स्थानीय निर्वाचन फलामको चिउरा बन्ने देखिन्छ । त्यो निर्वाचन सामना गर्न उसले कमल थापा नेतृत्वको राप्रपा नेपालदेखि अभिनेत्री करिश्मा मानन्धरसम्मको साथ रोजेको हो ।

ओलीले चुनावी तालमेलको विषयमा छलफल गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पटक–पटक प्रयास गरेका छन् । तर, राजेन्द्र लिङ्देनले ओलीसँग भेट्न अस्वीकार गरेपछि एक कार्यक्रमका लागि नेपालगञ्ज पुगेको बेला उनकै पार्टीका महामन्त्री धवलसमशेर राणासँग संवाद गरे । राणाले पार्टीले अहिलेसम्म तालमेलको विषयमा कुनै पनि नीति र अडान अगाडि नसारेको अवस्थामा आफूले एमालेको प्रस्तावबारे कुनै जवाफ दिन नसक्ने ओलीलाई बताएका थिए । ओलीले भने झापाबाट अध्यक्ष लिङ्देनलाई जिताउनेदेखि चितवनमा विक्रम पाण्डे र बाँकेबाट राणालाई संसदीय चुनाव जिताउने आश्वासन दिएका थिए । तर, उनले ओलीको आश्वासनको कुनै अर्थ नहुने बताए ।

उक्त भेटमा राणाले ओलीलाई प्रश्न गरेका थिए– ‘तपाईं फुटेको पार्टी हो, तपाईंसँग ०७४ को जनमतमध्ये कति बाँकी छ ?’ ओलीले ‘दुईचार जना चोइटिदैमा फरक पर्दैन’ भनेर उनको प्रश्नको जवाफ दिँदै थिए । राणाले फेरि भने, ‘कति मान्छेले एमाले छोडेका छन् भन्ने कुरा हामीले पनि न्युजहरुबाट देखिरहेकै छौँ ।’ कमल थापाहरुसँग सहकार्य गर्ने ओलीको मनशाय सुनेपछि राणाले ओलीलाई ‘गफ गरेर समय खेर नफालौ’ भन्दै कुराको बिट मार्न खोजेका थिए । तर, ओलीले देशभक्ति शक्तिहरु मिल्नुपर्ने भन्दै राप्रपा एउटै भएर आउनुपर्ने मनशाय व्यक्त गरे । महाधिवेशनबाट नेतृत्वमा आउन नसकेपछि पार्टी फुटाउनेहरुसँग मिल्नुपर्छ भन्ने ओलीको तर्कलाई राणाले अस्वीकार गरेका थिए ।

आगामी निर्वाचनलाई लक्षित गर्दै पूर्वराजावादी प्रेमबहादुर सिंहसहितको समूहलाई ओलीले यसअघि नै पार्टीमा भित्र्याइसकेका छन् । उनीसहित माओवादीमा आर्थिक र चारित्रिक आरोप लागेर बदनाम भएका व्यक्तिहरुलाई ओलीले पार्टीमा स्वागत गर्दै केन्द्रीय सदस्यसम्म बनाएका छन् । एमालेमा भित्रिएका प्रेमबहादुर सिंह २०५९ सालको शाही कदमअघि एमालेमै थिए । राजाको शासनमा मन्त्रीको लोभ गरेर एमाले छाडेका उनी केही समय राजाको क्याबिनेटमा मन्त्री बन्न पुगे । ०६२/०६३ को जनआन्दोलनपछि एकाएक माओवादीसँग मिलेर समानुपातिक सांसद र मन्त्रीसम्म बन्न सफल भएका उनले यसपटक एमालेमा फर्केर फेरि समानुपातिक सांसद र मन्त्रीको माग राखेका छन् ।

ओलीले उनको माग पूरा गर्ने बचन त दिएका छन् । तर, ‘मैँ त महादेव उत्तानो टाङ’ को हालतमा पुगेका ओलीसँग मागेर पाइने सांसद र मन्त्री पद भ्रामक सपनामात्रै भएको टिप्पणी एक एमाले नेताले गरेका छन् । विश्वस्तसूत्रका अनुसार, एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपालसँग चुनावी तालमेल गर्नेबारे छलफललाई भित्रभित्रै व्यापक रुपमा अगाडि बढाएको छ । एमालेले विभिन्न स्थानीय तहदेखि आगामी प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचन क्षेत्रसम्मको बाँडफाँडको विषय अहिल्यै टुंग्याएर जाने प्रस्ताव राप्रपा नेपालसँग गरेको छ ।

आफ्नो विभाजनको क्षतिलाई पुर्ताल गर्न प्रतिगामी र विसर्जनकारी शक्तिसँग लम्पसार पर्ने ओली रणनीति घातक हुने भन्दै एमालेभित्रै उनको कदमको आलोचना हुन थालेको छ । ‘उहाँले चाल्नुभएको कदमको गन्तव्य निश्चित छैन, यसरी हिँड्नु बेकार हुन्छ’, एक एमाले नेताले दृष्टिलाई बताए । एमालेका बहुसंख्यक नेता तथा कार्यकर्ता वाम तालमेलको पक्षमा छन् । तर, अध्यक्ष ओलीले वाम तालमेलको एजेन्डालाई लत्याइरहेका छन् ।

दृष्टिडटकमबाट