Breaking News

फ्रान्सका मिडफिल्डर पाउल पोग्बाको विश्वकप च्याम्पियन हुँदा प्राप्त मेडल पनि चोरी

फ्रान्सका मिडफिल्डर पाउल पोग्बाले गत साता आफ्नो घरमा चोरी हुँदा विश्वकप च्याम्पियन हुँदा प्राप्त मेडल पनि चोरी भएको बताएका छन्।

पोग्बाको घरमा मार्च १५ मा तोडफोडसहित चोरी भएको थियो। उनका छोराछोरी सुतिरहेका बेला तोडफोड भएको थियो।

यो घटना म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगको खेलमा एट्लेटिको म्याड्रिडसँग खेलिरहेको बेला भएको थियो।

सन् २०१८ मा रूसमा भएको विश्वकपको फाइनलमा फ्रान्सले क्रोएसियालाई हराएपछि पोग्बा विश्वकप विजेता बनेका थिए।

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पोग्बाले मंगलबार फ्रान्सेली अखबार ले फिगारोलाई भने, ‘मेरी आमाका गहनाहरू थिए, मेरो विश्व च्याम्पियन पदक थियो। घटना हुँदा मेरा दुई बच्चा आमासँगै थिए। धेरै दिनसम्म उनी स्तब्ध भइन्। मेरा बच्चा ठीक छन् यो महत्वपूर्ण कुरा हो।’

पोग्बा शुक्रबार आइभरी कोस्टविरुद्ध र मार्च २९ मा दक्षिण अफ्रिकाविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि फ्रान्सको टोलीमा छन्।

एजेन्सी