चार जनाको सुतेकै अवस्थामा निसासिएर मृत्यु, २ दिनको नवजात शिशुको उपचारकै क्रममा मृत्यु र एक जनाको आईसियूमा उपचार हुँदै

ललितपुरको कोन्ज्योसोम गाउँपालिका-४ नल्लुकी २२ वर्षीया सुष्मा स्याङताङले शनिबार बच्चा जन्माएकी थिइन्।

प्रसूति गृहले सुष्मा र शिशुलाई आइतबार मात्रै डिस्चार्ज दिएको थियो। उनीहरू आइतबार नै नल्लु पुगेका थिए।

स्याङताङ परिवार आइतबार बेलुका खाना खाएर एकैठाउँ सुतेका थिए। कोही खाटमा, कोही भुइँमा सुतेका थिए।

बेलुका सुत्केरी सेकाउनका लागि आगो बालेका थिए। उनीहरू इँटाको गारो र टिनले छाएको घरको दुई वटामध्ये एउटै कोठामा सुतेका थिए। अर्को कोठा बन्द थियो।

ढोका बेस्सरी लगाएका थिए। हावा नछिरोस् भनेर झ्यालमा बोराले कसेका थिए।

उनीहरू ५५ वर्षीय काइँला स्याङताङ, बुहारी २२ वर्षीया सुष्मा स्याङताङ, नाति ९ वर्षीय आशिष स्याङताङ र ५ वर्षीया नातिनी आशमा स्याङताङ, छोरा २२ वर्षीय सुभाष स्याङताङ र नाबालक २ दिनको नवजात शिशु थिए।

जसमध्ये अब सुभाष स्याङताङ मात्रै बाँकी छन्। सुत्केरी श्रीमती, शिशुसहित परिवारका सबै जनाको मृत्यु भइसकेको छ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलका अनुसार सोमबार बिहान साढे सात बजेतिर काइँला स्याङताङकी छोरी रोशनी घलान घर आएकी थिइन्।

उनको घर केही परको बस्तीमा घर छ। सुत्केरी बुहारी र भदाहाको मुख हेर्न एकाबिहानै आएकी रोशनीले मुख्य ढोका बन्द देखिन्।

ढोका खुलेन, झ्याल बेस्सरी धकेलेर उघार्दा भित्र परिवारका सबै जना मस्त निद्रामा झैं देखिन्थे। रोशनीले बोलाइन्, कसैले प्रतिक्रिया दिएनन्।

त्यसपछि रोशनी आत्तिँदै कराउन थालिन्। नजिकका छिमेकी उनकै दाजु ३८ वर्षीय राजु स्याङताङ पहिले उठे। राजुसहितका गाउँले भेला भएपछि आफैं झ्यालबाट छिरेर ढोका उघारिन्।

यतिबेलासम्ममा वडाध्यक्ष तीर्थराज घलान आइपुगिसकेका थिए। उनले प्रहरीलाई खबर गरे। इलाका प्रहरी कार्यालय कोन्ज्योसोमलाई खबर गरेपछि प्रहरी टोली पुग्यो। टोली पुग्दा सुभाष र दुई दिनको शिशु जीवितै थिए।

टोलीले तत्काल उनीहरूलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पठायो। शिशुको उपचारकै क्रममा मृत्यु भइसकेको छ भने सुभाषको गम्भीर अवस्थामा उपचार भइरहेको छ।

सुभाषको अहिले गणेशमान सिंह मेमोरियल अस्पताल ललितपुरमा उपचार भइरहेको छ। उनलाई आइसियूमा राखिएको छ।

एसएसपी पोखरेलका अनुसार हावा बाहिर-भित्र छिर्न नसक्ने गरी कोठा न्यानो बनाएको देखिएको छ। कोठामा आगो बालेको देखिएको छ।

‘कोइला बालेर सुतेको भेटिएको छ,’ पोखरेलले भने, ‘चोटपटक केही पनि देखिएको छैन।’

सुतेको ठाउँमा बान्ता भएको देखिएको पोखरेलले बताए।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका फरेन्सिक चिकित्सकसहितको टोलीले प्रारम्भिक अनुसन्धान गर्दा निसास्सिएर मृत्यु भएको देखेको छ।

‘कोइराला बाल्दा कार्बनडाइअक्साइड अत्याधिक उत्पन्न भएको, हावा छिर्न नसक्ने गरी झ्याल-ढोका बेस्सरी लगाइएकोले  अक्सिजनको आवातजावत हुन सकेन,’ फरेन्सिक चिकित्सकलाई उद्धृत गर्दै पोखरेलले भने।

वडाध्यक्ष तीर्थराज घलानका अनुसार घरमा जम्मा सात जना हुन्। जेठा छोरा राजु स्याङताङचाहिँ अर्को घरमा छुट्टै सुतेकाले उनलाई केही हुन पाएन।

‘मेरो फुपूको घर हो, सात जना रहेकामा जेठोचाहिँ अर्कै घरमा बसेका हुनाले केही भएन,’ वडाध्यक्ष घलानले भने।

प्रहरी र चिकित्सकसहितको टोलीले शवहरूको मुचुल्का उठाएको छ। शव पोष्टमार्टमका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइने प्रहरीले जनाएको छ।

सेतोपाटीबाट