Breaking News

विश्वकप अन्तर्गतको ग्लोबल छनोट प्रतियोगितामा सहभागिता जनाउन नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्थान

आईसीसी पुरूष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट प्रतियोगितामा सहभागिता जनाउन नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार ओमान प्रस्थान गर्दैछ।

विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपाली टोली मंगलबार राति ८ बजे ओमान प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

ओमानमा आगामी फागुन ६ गतेदेखि हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम छन्।

समूह ‘ए’ लाई पनि  समूह १ र समूह २ मा विभाजन गरिएको छ। समूह १ मा नेपाल, ओमान, फिलिपिन्स र क्यानडा छन्। समूह २ मा बहराइन, जर्मनी, आयरल्यानड र युएई रहेका छ्न्।

समूह १ र  २ का शीर्ष २-२ टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुग्ने दुई टिमले यहि वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान पक्का गर्नेछन्।

नेपालले विश्वकपमा स्थान पक्का गर्न सुरुमा समूह १ को शीर्ष दुईभित्र पर्नु पर्नेछ, त्यसपछि सेमिफाइनलको खेल जिते नेपाल यही वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुनेछ।

नेपालले सन् २०१४ को आइसिसी टी-२० विश्वकप खेलेको थियो। सन् २०१३ मा भएको छनोट पार गरेर पहिलो पटक विश्वकप खेलेपछि नेपालमा क्रिकेटको उचाइ ह्वात्तै बढेको थियो।

त्यसयता भने नेपाल विश्वकपमा छनोट हुन सकेको छैन। लगातार दुई पटक विश्व छनोटमा असफल भएको नेपालले आगामी महिना आइसिसी टी-२० विश्वकप २०२२ का लागि विश्व छनोट खेल्दैछ।

यसपटक पुनः विश्वकपमा छनोट हुने लक्ष्य नेपालले लिएको छ।

कप्तानको जिम्मेवारी पाएका सन्दीप लामिछानेले यसपटकको विश्वकपमा छनोट हुनका लागि नेपाल तयार रहेको प्रतिक्रिया दिएका छन्। उनले आफ्नो मात्र नभइ सारा नेपालीको इच्छा नेपालले विश्वकप खेलेको हेर्ने भएको बताएका छन्।

उनले विश्वकपअघि टिममा रहेका सिनियर खेलाडीको सल्लाहमा अघि बढ्ने बताएका छन्।

दोस्रो पटक नेपालको प्रशिक्षक नियुक्त भएर अघिल्लो महिना नेपाल आएका पुबुदु दसानायाकेले पनि  यसपटक नेपालका लागि विश्वकपमा छनोट हुने ठूलो अवसर रहेको बताएका छन्। तर त्यसका लागि सजिलो भने नभएको उनको भनाइ छ।

चार टिम भएको समूहमा खेल्दा सधैं गाह्रो हुने पुबुदुको भनाइ छ। त्यसका लागि नेपालले हरेक खेलमा राम्रो खेल्नु पर्ने उनको भनाइ छ।

अहिले टी-२० क्रिकेटमा कुनै पनि टिमलाई कमजोर मान्न नहुने पुबुदुले बताए।

नेपालले विश्वकप छनोटअघि ओमानमै चार टिम सम्मिलित टी-२० सिरिज खेल्नेछ।

सिरिजमा नेपालसहित युएई, आयरल्यान्ड र घरेलु टिमबीच प्रतिस्पर्धा हुनेछ। विश्वकपअघि नेपालले तयारीस्वरुप सिरिज खेल्न लागेको हो। सिरिज माघ २८ सुरु भएर फागुन २ मा सकिनेछ। नेपालले पहिलो खेल माघ २८ मा ओमान, दोस्रो खेल माघ २९ मा युएई र  तेस्रो खेल फागुन २ मा  आयरल्यान्डसँग खेल्नेछ।

विश्वकप छनोटअघि टी-२० सिरिज खेल्दा नेपाललाई फाइदा हुने कप्तान सन्दीप र प्रशिक्षक पुबुदुको भनाइ छ। सिरिजबाट आफ्ना कमजोरी पत्ता लगाउँदै विश्वकप छनोटका लागि तयारी गर्ने प्रशिक्षक पुबुदुले बताए।

१० वर्षमा पाँचौ पटक छनोट खेल्दै
नेपालले सन् २०१२  युएईमा भएको विश्व छनोट खेलेको थियो। त्यतिबेला नेपाल सातौं भएको थियो।

नेपालले सन् २०१३ को विश्व छनोटमा भने उत्कृष्ट खेलेको थियो। जहाँ नेपाल तेस्रो हुँदै सन् २०१४ को टी-२० विश्वकप पुगेको थियो।

सन् २०१५ को विश्व छनोटमा भने नेपालको प्रदर्शन राम्रो हुन सकेन। आयरल्यान्ड र स्कटल्यान्डमा भएको प्रतियोगितामा समूहको पुछारमा रहदै बाहिरिएको थियो।

सन् २०२१ मा युएईमा भएको विश्वकपका लागि २०१९ मा सिंगापुरमा एसिया छनोट भएको थियो। जहाँ नेपालले खराब प्रदर्शन गर्दा सन् २०१२ पछि विश्व छनोट खेल्ने अवसर गुमाएको थियो।

सन् २०२२ मा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउन लागि नेपालले आगामी महिना विश्व छनोटमा उत्कृष्ट प्रदर्शन गर्नु पर्ने हुन्छ।

नेपालका लागि चार टिम सम्मिलिन समूहमा सुरुमा शीर्ष दुईमा पर्नु पर्ने हुन्छ। त्यसपछि हुने सेमिफाइनलमा जित हात पारे नेपालले १० वर्षपछि विश्वकप खेल्नेछ।

नेपालको खेल

  • नेपाल भर्सेस ओमान –  ओमान एकेडेमी १-  फागुन ६
  • नेपाल भर्सेस फिलिपिन्स –  ओमान एकेडेमी  २-  फागुन ७
  • नेपाल भर्सेस क्यानडा –  ओमान एकेडेमी १ – फागुन ९
  • सेमिफाइनल १ र २ – ओमान एकेडेमी २-१ –  फागुन १०
  • फाइनल –  ओमान एकेडेमी १ – फागुन १२

नेपाली टिम
सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनास बोहरा, साहब अलाम, कुशल मल्ल, कमलसिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी, लोकेश बम।