एथलेटिक बिल्बाओले स्पेनिस ला लिगामा प्रतिस्पर्धात्मक जित निकालेको छ। सोमबार राति भएको खेलमा बिल्बाओले स्पान्योललाई २–१ गोलले हरायो।
घरेलु मैदानमा बिल्बाओलाई पूनरागमन जित दिलाउन ओइहान सानसेट र इनिगो मार्टिनेजले गोल गरे। स्पान्योलका टोनी भिलहेनाको सुरुवाती गोल सान्त्वना बन्यो।
प्रतिस्पर्धात्मक खेलमा तीन वटै गोल पहिलो हाफमा सम्भव भएको थियो। खेलको तेस्रो मिनेटमै स्पान्योलका टोनीले जाभी पुआडोको पासमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाए । तर स्पान्योलको अग्रता दुई मिनेट पनि टिकेन।
पाँचौं मिनेटमा सानसेटले राउल गार्सियाको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। १६औं मिनेटमा मार्टिनेजल डानी भिभिएनको पासमा गोल गर्दै पहिलो हाफमा बिल्बाओको अग्रता बनाए।
दोस्रो हाफमा दुवै टोलीबाट थप गोल नहुँदा बिल्बाओ विजयी भयो। ५६ प्रतिशत बल पोसेसन राखेको स्पान्योलले दोस्रो हाफमा गोल गर्ने राम्रा अवसर गुमाएको थियो । बिल्बाओका ओएर जारागा ‘म्यान अफ दी म्याच’ भए ।
जितसँगै बिल्बाओ आठौं स्थानमा छ। बिल्बाओले २३ खेलबाट ३४ अंक बनाएको छ। पराजित स्पान्योल २७ अंक सहित १३औं स्थानमा छ।
तालिकाको शीर्ष स्थानमा आसिन रियल म्याड्रिडको ५३ अंक छ। दोस्रो स्थानमा रहेको सेभियाको ४७, तेस्रो स्थानमा रहेको रियल बेटिसको ४० र चौथो स्थानमा रहेको बार्सिलोनाको ३८ अंक छ । बार्सिलोनाले एक खेल कम खेलेको छ ।