४० प्रतिशत नागरिक ओमिक्रोन संक्रमित हुनसक्ने सरकारको प्रक्षेपण

सरकारले कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको सङ्ख्या तीव्र गतिमा बढेपनि महामारीको तेस्रो लहर सुरु भएको स्वीकार गरेको छैन । यद्यपि स्वास्थ्य मन्त्रालयले ओमिक्रोन भरियन्ट तीव्रगतिमा फैलन सक्ने आंकलन गरेको छ ।  ओमिक्रोनबाट ४० प्रतिशत नागरिक संक्रमित हुनसक्ने अनुमानसहित त्यही आधारमा स्वास्थ्यका पूर्वाधार तयारी अवस्थामा राखेको मन्त्रालयका एक उच्च अधिकारीले रातोपाटीलाई बताए ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले पनि अझै संक्रमितको सङ्ख्या तीव्रगतिमा बढ्न सक्ने बताए । नेपालमा हालसम्म २७ जना कोभिड–१९ को ओमिक्रोन भेरियन्ट पुष्टि भइसकेको छ । यद्यपि एक सातायता भेटिएका संक्रमित मध्ये धेरैलाई डेल्टा भेरियन्ट पुष्टि भएको उनको भनाइ छ ।

संक्रमितमध्ये धेरै जनामा डेल्टा भेरियन्ट पुष्टि भएपनि छिमेकी राष्ट्र भारतमा ओमिक्रोन भेरियन्ट पुष्टि भइरहेकाले संक्रमण फैलने जोखिम उच्च रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ । पछिल्लो समय भारतबाट नेपाल फर्किने नेपालीहरुको संख्या वृद्धि हुँदै गएकाले पनि संक्रमणको उच्च जोखिम बढेको हो ।

यता त्रिवि शिक्षण अस्पताल महाराजगन्जका कोभिड संयोजक तथा छातीरोग विषेशज्ञ डा. निरज बमले समयमै ओमिक्रोनको रोकथाम गर्न नसकेको खण्डमा चुनौतिपूर्ण अवस्था सृजना हुनसक्ने रातोपाटीलाई बताए । पछिल्ला केही दिनयता कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै अस्पतालमा तुलनात्मक रुपमा संक्रमितको सङ्ख्या पनि बढ्दै गएको उनले बताए ।

अस्पतालमा पिसिआर परीक्षण गर्ने, उपचार गर्न आउने बढेका भएपनि गम्भीर खालका बिरामीको चाप भने नरहेको उनको भनाइ छ ।

यस्तो छ सरकारको तयारी

कोरोना संक्रमण पहिचान, उपचार र नियन्त्रणका लागि सरकारले यही पुस महिनादेखि आगामी भदौ महिनासम्मका लागि ¥यापिट एक्सन प्लान लागू गरेको छ । मन्त्रालयकी प्रवक्ता डा.संगिता कौशल मिश्राका अनुसार ¥यापिट एक्सन प्लानमा सीमा नाकामा कडाइ र कसरी व्यवस्थापन गर्ने, अस्पतालको व्यवस्थापन र अक्सिजनको सहज उपलब्धताका सम्बन्धमा योजना समेटिएका छन् ।  यस्तै स्थानीय तहसँग होल्डिङ सेन्टर र आइसोलेशन बनाउन समन्वय गर्ने तथा खोप उपलब्धताका सम्बन्धमा पनि आवश्यक योजना बनाइएको छ ।

उनका अनुसार हालसम्म ५ वटा लिक्विड अक्सिजन प्लान्ट स्थापना भएको छ । ती प्लान्टको अवस्थाबारे पनि ¥यापिड एक्सन प्लान अन्तर्गत राखेर स्वास्थ्य मन्त्रालयले काम गरिरहेको उनले सुनाइन् । मन्त्रालयका अनुसार पहिलो लहरको तुलनामा दोस्रो लहरमा स्वास्थ्य पूर्वाधारहरुको सुधार गरिएको थियो ।

अब ओमिक्रोन भेरियन्टसँग जुध्नका लागि आइसोलेशन, बेड, एचडियू, आइसियू, भेन्टिलेटर, अक्सिजन, सिलिन्डर, अक्सिजन प्लान्ट लगायतका स्वास्थ्य पूर्वाधार थप गरिएको छ । जसमा काठमाडौं उपत्यकामा आइसोलेन बेड २४ सय ९४ तयारी अवस्था राखिएको छ भने एचडियू ३२४ वटा, आइसीयू ४४५, भेन्टिलेटर २५४ रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, नेपालभर ८ हजार २०२  आइसोलेशन बेड रहेको छ । एचडियू बेड ३८ सय ४६ बेड तयारी अवस्था रहेको छ भने आइसीयू २७ सय ९७ वटा छ । यस्तै देशभरका अस्पतालमा भेन्टिलेटर १ हजार ८ वटा छ ।  अक्सिजन सिलिन्डर १३ हजार ९३९ वटा तयारी अवस्थामा राखिएको छ । अक्सिजन प्लान्ट बढाएर १०७ पु¥याइएको मन्त्रालयको भनाइ छ । अक्सिजन ट्यांकी २५ वटा रहेका मन्त्रालयले जनाएको छ ।

संक्रमण बढ्दै

सरकारले कोरोना महामारीको तेस्रो लहर भनेर घोषणा नगरेपनि पछिल्ला केही दिनयता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । मंगलबार देशभर २४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो एक साताको तथ्यांक केलाउँदा संक्रमितको सङ्ख्या तीव्र गतिमा बढ्दै गएको देखिन्छ ।

गत बुधबार १२ हजार ४ सय ९८ वटा कोरोना परीक्षण गर्दा ३२६ जनामा कोरोना पुष्टि भएको थियो । यस्तै, बिहीबार ५४० जनामा संक्रमण पुष्टि भयो भने शुक्रबार संक्रमितको सङ्ख्या बढेर ९६८ जना पुग्यो । यस्तै, शनिबार ९४४ जना संक्रमित हुँदा आइतबार संक्रमितको बढेर ११ सय ६९ पुग्यो भने सोमबार १४ सय ४५ जनामा पुष्टि भएको तथ्यांकमा उल्लेख छ ।