सबै विवाद बिर्सिएर अब विश्वकप छनोटमा ध्यान केन्द्रित गर्ने

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सबै विवाद बिर्सिएर अब विश्वकप छनोटमा ध्यान केन्द्रित गर्ने बताए । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा २८ खेलाडीसँगै अभ्यास गरिरहेका मल्लले वर्गीकरणको विषय पछि सतहमा देखिएको खेलाडी र क्यानबीचको समस्या समाधान भएको उनले बताएका हुन् ।

क्रिकेट खेलाडी र नेपाल क्रिकेट संघ ९क्यान० को विवाद मिलेसँगै फेब्रुअरीमा ओमानमा हुने ट्वान्टी–२० विश्वकप छनोट खेलका लागि मंगलबारबाट सबै खेलाडी बन्द प्रशिक्षणमा उपस्थित भएका छन् ।

क्यानले सार्वजनिक गरेको ३० खेलाडी मध्ये मंगलबार कारबाहीमा परेका ४ खेलाडीसहित सबै जसो खेलाडी मैदानमा देखापरेका हुन् । मंगलबारको प्रशिक्षणमा मल्लसहित अन्य खेलाडीले पनि प्रशिक्षण स्थलमा सहभागिता जनाए ।

मंगलबार मैदानमा सञ्चारकर्मीसँग बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ज्ञानेन्द्र मल्लले आफू सधैँभरि कप्तान बन्नका लागि नआएको बताए । बोर्ड र खेलाडीसँग पहिले नै यसरी छलफल भएको भए यो विवाद यस्तो अवस्था नआउने भन्दै मल्लले बिना जानकारी कप्तानबाट हटाउँदा दुःख लागे पनि सधैँ कप्तान बन्नुपर्छ भन्ने अडानमा नरहेको बताए ।

मल्लले आत्मसम्मानका हिसाबले अलि अप्ठेरो महसुस भएको भन्दै देश, आफ्नो र परिवारका लागि खेल्ने बताए । यस्तै मल्लले क्यानसँग खेलाडीहरूको प्रोत्साहन भत्ता बढाउने र ४ जना खेलाडीलाई गरिएको कारबाही फिर्ताको विषयमा पनि सहमति भएको बताए । उनले इगो बाहिर राखेर नेपाली क्रिकेटको लागि एक ठाउँमा बस्नुभन्दा पनि विगत बिर्सिएर अघि बढ्ने अवस्थामा पुगेका बताए । अब विश्वकप छनोट नजिकिँदै गएको भन्दै मल्लले छनोटमा खेलमा केन्द्रित हुने जिकिर गरे ।