ओमिक्रोन भेरियन्ट कति सङ्क्रामक, कति घातक छ ?

कोरोनाभाइरस म्युटेसन अर्थात् उत्परिवर्तन हुँदा सङ्क्रामक भनिएको नयाँ भेरियन्ट ओमिक्रोनबारे विश्वभर बहस चलिरहेको छ । दक्षिण अफ्रिकामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छोटो अवधिमा धेरैमा राष्ट्रमा देखापरेको छ । यस भेरियन्टले हाल कोरोनाविरुद्ध लगाइरहेको खोपलाई छल्न सक्ने विज्ञहरूले आशङ्का  गरिरहेका छन् । ओमिक्रोन भेरियन्ट कति सङ्क्रामकता र घातक हो ? नेपालमा यस भेरियन्टको जोखिम कति छ ? यही सन्दर्भमा भाइरोलोजिस्ट डा. लुना भट्टसँग गरिएको कुराकानी हामी कदर न्यूजमा सभार गर्न
चाहन्छौं :

ओमिक्रोन भेरियन्ट कतिको सङ्क्रामक र घातक छ ?

कोरोनाभाइरसको नयाँ भेरियन्ट थप म्युटेसन अर्थात् उत्परिवर्तन भएर बनेको ओमिक्रोन भेरियन्ट हो । ओमिक्रोन भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले भेरियन्ट अफ कन्सर्न भनेर घोषणा गरेको छ । डेल्टा भेरियन्ट पनि सङ्क्रामक नै थियो । पछिल्लो समय पुष्टि भएको नयाँ ओमिक्रोन भेरियन्टमा पनि बढी म्युटेसन अर्थात् उत्परिवर्तन भएको देखिएको छ । यो कति सङ्क्रामक र घातक हुन्छ,  कस्तो खालको व्यवहार देखाएर जटिलता ल्याउँछ त्यो हेर्न बाँकी छ । उत्परिवर्तन बढी भएकाले  यो छिटो फैलन सक्ने अनुमान गरिएको हो । ओमिक्रोन भेरियन्ट सङ्क्रमण हुँदा थकाइ लाग्ने, रुघाखोकी, हल्का शरीर दुख्ने जस्ता लक्षण देखिएको छन् ।

ओमिक्रोन भेरियन्टलाई हाल लगाइरहेका खोपले काम गर्दैनन् कि भनेर विज्ञहरूले शङ्का व्यक्त गरेका छन् नि ?

हाल कोरोनाविरुद्ध लगाइरहेको खोपहरू चीनको उहानमा देखिएको भाइरसलाई आधार मानेर बनाइएको हो । कोरोनाभाइरस सुरुको भाइरस धेरैभन्दा धेरै उत्परिवर्तन हुँदै गएको छ । यसरी उत्परिवर्तन भइरहने भाइरसले हाल लगाइरहेका खोपका लागि चुनौती थप्दै गएको छ । त्यसैले पुनः खोपहरूलाई ल्याबमा परीक्षण गरेर हाल उत्परिवर्तन भएका भाइरसहरुविरुद्ध काम गर्छ कि गर्दैन भनेर अनुसन्धान पनि भइरहेको छ । खोपको प्रभावकारिताको विषयमा अहिले भन्ने सक्ने अवस्था छैन । तर, स्पाइक प्रोटिनमा म्युटेसन भएकाले प्रभावकारितामा कमी आउन सक्छ भन्ने आशङ्का हो ।

भाइरसले स्वरूप परिवर्तन गर्दै जाँदा कमजोर हुँदै जाने उदाहरण देखिएका छन् । तर, कोरोना भाइरस पुष्टि भएको दुई वर्ष पुगिसक्दा पनि यसको उत्परिवर्तन भएका भेरियन्ट किन झन् सङ्क्रामक हुँदै गएको हो ?

भाइरसहरू परिवर्तन हुँदै जाँदा परिवर्तन गर्दै जाँदा कमजोर हुँदै जान्छन् यो सत्य हो । तर, कहाँ निर भाइरसको उत्परिवर्तन भयो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । भाइरसहरूले आफूलाई शरीरको कोषभित्र वृद्धि गर्छ । ब्याक्टेरिया र भाइरसमा यही फरक छ । एक/दुई वटा ब्याक्टेरिया बाहेक अन्य ब्याक्टेरिया कोषभन्दा बाहिर वृद्धि हुन्छ । भाइरसले कोषभित्र आफूलाई धेरै भन्दा धेरै वृद्धि गरेर जिवित रहने अवसर बनाउँछ । भाइरसले आफूलाई परिवर्तन गर्न सकेनन् भने टिक्न सक्दैनन् । अहिले धेरै जना व्यक्ति सङ्क्रमित भई निको भएकाले उनीहरूमा एन्टिबडी छ । कोरोनाविरुद्धको खोप पनि लगाएका छन् । भाइरसले अब ओमिक्रोन भेरियन्टलाई छल्नुपर्‍यो ।

भाइरसले त्यसलाई छलेन अर्थात् आफूलाई परिवर्तन गरेन भने त्यो नबच्न सक्छ । त्यसैले जहाँजँहा आफूलाई सहज हुन्छ त्यही जीनमा भाइरसले स्वरूप परिवर्तन गरिराख्छ । यस ओमिक्रोन भेरियन्टले पनि कोषमा समाएर छिर्नका लागि आफूलाई उत्परिवर्तन गर्‍यो । अर्को कुरा एन्टीबडी छल्नका लागि पनि आफूलाई उत्परिवर्तन गर्छ । अर्को कारण यो आरएनए भाइरस हो । आरएनए भाइरसले प्रुफ रिडिङ गर्न सक्दैन । आरएनए भाइरसले सेलबाट निस्कने बेलामा एउटा न एउटा गल्ती गरेको हुन्छ ।

उत्परिवर्तित भाइरसले एकदमै प्रभाव पार्छ कि कम प्रभाव पार्छ वा पार्दै पार्दैनन्, त्यसैको आधारमा भाइरस कतिको सङ्क्रामक हो भनेर थाहा पाउन सकिन्छ । नयाँ भेरियन्ट ओमिक्रोनमा पहिला पहिला उत्परिवर्तन भएका डेल्टा, अल्फा देखिएका भाइरसहरू यसमा थपिएर आएका छन्  । यसरी भाइरस उत्परिवर्तन हुँदा कोष भित्र मज्जाले जान सक्ने ठाउँमा थपिएको छ ।

ओमिक्रोन भाइरसको बारेका पूर्ण रूपमा थाहा पाउन अझैँ समय लाग्छ । किनभने ओमिक्रोन भेरियन्ट पुष्टि भएको १९/२० दिन मात्रै  भयो । यो भेरियन्ट अझैँ लडाकु भइराख्छ कि कमजोर भएर जान्छ हेर्न बाँकी छ ।

त्यो भए कोरोनाभाइरसले नयाँ स्वरूपमा परिवर्तन गरिरहने विश्वलाई त्रास सधैँ राखिराख्छ त ?  

कुनै पनि भाइरस हराउँदैनन् । भाइरसको सङ्क्रमण बढ्ने घट्ने भइरहन्छ । मौसम, तापक्रम र वातावरणले भाइरसहरूलाई प्रभाव पर्छ । तर, भाइरसलाई कुनै खालको अवरोध भएन भने भाइरसको  सङ्क्रमण जुन बेला पनि हुन सक्छ ।  अहिले देखिएको कोरोना महामारीका कारणहरू खोज्दै जाँदा कारणहरू धेरै छन् । कोरोनाभाइरसले स्वरूप परिवर्तन गरे पनि कमजोर हुँदै गएको खण्डमा ठूलो राहत हुने थियो ।

फेरि यो भनिरहँदा सधैँभरि कोरोनाभाइरससँग त्रसित भएर बस्नुपर्छ भन्न खोजिएको होइन । हामीले दैनिक गर्ने क्रियाकलापलाई विशेष ध्यान दिएको खण्डमा यस्ता भाइरस क्रमशः हराउँदै जान पनि सक्छन् । कोरोना भाइरसले स्वरूप गरी कमजोर भएर हराउँदै जान कति बेर पनि नलाग्न सक्छ ।

ओमिक्रोन भेरियन्ट देखिसकेपछि धेरै राष्ट्रले प्रवेशमा रोक लगाएका छन् । छिमेकी राष्ट्रमा पनि यो भेरियन्ट सङ्क्रमण पुष्टि भएको अवस्थामा नेपाल कतिको जोखिममा छ ?

ओमिक्रोन भेरियन्ट पहिला दक्षिण अफ्रिकामा पुष्टि भएको भयो । तर, यस भेरियन्ट त्यहाँ मात्रै भएर देखिएको होइन । त्यहाँ कोरोना भाइरसको स्वरूप परिवर्तन बारे खोज तथा अध्ययन गर्दा पत्ता लगाएको हो । त्योभन्दा पहिलै ओमिक्रोन भाइरस देखिएको हुन सक्छ । विश्व अहिले परिवार जस्तो बनेको छ । एक देशबाट अर्को देशमा जाने आउने क्रम चलिरहन्छ । २० भन्दा धेरै देशमा यो ओमिक्रोन भेरियन्ट देखिसकेको छ । भारतमा पनि ओमिक्रोनबाट सङ्क्रमित भएको पुष्टि भइसकेको अवस्था छ । यस्तै सीमा नाका, विमान स्थलमा र स्वयं व्यक्तिले जनस्वास्थ्यका मापदण्ड पालना गर्न बेवास्ता गरिरहेका छन् । नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन आएको पनि हुन सक्छ । सीमा नाकासँगै विमानस्थलमा स्क्रिनिङ हुनुपर्‍यो । र अन्य ठाउँहरू पनि स्क्रिनको आवश्यकता पर्छ  । नेपालमा ओमिक्रोन भेरियन्ट नआउने भन्ने कुरा नै  हुँदैनन् । अमेरिका, हङकङ भारत लगायतका धेरै देशमा देखिएको छ । सावधानी नपाएको खण्डमा भोलि नेपाल पनि देखिन सक्छ । यस भेरियन्ट बारे अध्ययन अनुसन्धान भइरहेको छ । अध्ययनबाट सङ्क्रमण दर उच्च भनिएको छ यदि सङ्क्रमणसँगै जटिलता बढी भयो भने झन् समस्या हुन्छ । किनभने हामीले पूर्ण रूपमा जनस्वास्थ्यका मापदण्ड पालना गरेका छैनौँ । सङ्क्रामक यस भेरियन्टले दीर्घरोगी वृद्ध वृद्धामा सङ्क्रमण भयो पनि जटिल स्थिति सृजना हुनसक्छ ।

राताेपाटीबाट