ओलीले प्यानलगत पर्चा बाँडे यो सरासर धाँधली भयो

नरबहादुर बिक

१४ मंसिर, काठमाडौं । नेकपा एमालेका १० औं नेतृत्व चयनका लागि बिहान ४ बजेबाट भोटिङ भइरहेको छ भने ओली पक्षले भोटिङ स्थलमै प्रतिनिधिहरुलाई प्यानलगत पर्चा छापेर भिम रावल पक्षलाई भोट नहाल्न उर्दी नै जारी गरेको बेला नेता नरबहादुर बिकले नेतृत्व चयनमा धाँधली भएको बताएका छन् ।

प्यान नबनाउने, हात जोडेर भोट माग्ने पार्टीको निर्णय उल्लंघन भएको भन्दै उनले चुनाव निश्पक्ष नभएको बताए । ‘जब पार्टीले निर्णय गरेको छ, हामी प्यानल बनाउँदैनौं, इन्डिभिजुअलरुपमा उम्मेदवार घोषणा गरेर कार्यकर्तालाई चुन्ने अधिकार स्वतन्त्र राख्ने । त्यसैले यो त सरासर धाँधली हो ।

अध्यक्षका उम्मेदवार भीम रावल पक्षका नेता नरबहादुरले केपी ओली पक्षले खुलमखुल्ला प्यानल बनाएर भीम रावल र उनका मान्छेलाई भोट नदिनू भनेर मतदाताको स्वतन्त्र निर्णय गर्ने अधिकारमै बन्देज गरी राजनीतिक अपराधीकरण गरेको आरोपसमेत लगाए ।

अहिले खासगरी कमरेड केपी ओलीको पक्षधरले कमरेड भीम रावललाई भोट नदिनू र भीम रावलसँग जोडिएकाहरूलाई भोट नदिनू भनेर पर्चामा समेत कट गरेर बाँडेको पाइँदाखेरि यो सरासर पार्टीको निर्णयविरुद्ध हो, पार्टीका नेता कार्यकर्ताको भावनाविरुद्ध हो, जनमतको विरुद्ध हो, यो एउटा राजनीतिक अपराधीकरण हो ।