ओली पक्षले प्यानलगत पर्जा वितरण : रावलपक्षलाई भोट नहाल्न ओली पक्षको उर्दि

१४ मंसिर, चितवन । नेकपा एमालेको १० औं महाधिवेशनस्थल सौरहामा नयाँ नेतृत्व चयन गर्न बिहान ४ बजेदेखि मतदान भइरहेको छ । मतदान स्थलमा अध्यक्षका प्रत्यासी भीम रावललगायतका उम्मेदवारहरूलाई भोट नहाल्न भन्दै केपी ओलीका समर्थकले प्रतिनिधिहरूलाई ओलीको प्यानलगत पर्चा बाँडेको भेटिएको छ ।

एमाले महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि आज बिहानबाट मतदान सुरु भएको छ । मतदानमा सहभागी प्रतिनिधिहरूलाई ‘भोट नहाल्ने नामावली’ लेखिएको दुई खालको पर्चा बाँडिएको छ । त्यसमा अध्यक्षका उम्मेदवार भीम रावलको नाम सबैभन्दा माथि छ ।

अध्यक्षमा केपी शर्मा ओलीसँग रावलको प्रतिस्पर्धा छ । यसअघि रावलको पक्षमा भोट माग्दै पर्चा बाँड्ने कार्यकर्ताहरुलाई एमालेका स्वयंसेवकहरुले बन्दसत्र हलको परिसरबाट बाहिर निकालेका थिए ।

उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसाल, खुला सचिवका उम्मेदवार टंकप्रसाद कार्की र भीमप्रसाद आचार्यलाई पनि भोट नहाल्न भन्दै पर्चा बाँडिएको छ ।

यसैगरी प्रदेश गत र खुला सदस्यको समेत ओलीले प्यानलनै बनाएर पर्जा बाँडिएको छ ।