वाटफोर्डसँग लज्जास्पद हार बेहोरेपछि म्यानचेस्टर युनाइटेडले म्यानेजर ओली गनर सोल्कसायरलाई हटाउने निर्णय

वाटफोर्डसँग लज्जास्पद हार बेहोरेपछि म्यानचेस्टर युनाइटेडले म्यानेजर ओली गनर सोल्कसायरलाई हटाउने निर्णय गरेको छ । शनिबार भएको खेलमा १० खेलाडीमा सीमित बनेको युनाइटेड वाटफोर्डसँग ४-१ गोलअन्तरले पराजित भएको थियो । खेललगत्तै क्लबको आपत्कालीन बोर्ड बैठकले उनलाई हटाउने निर्णय गरेको हो ।

बेलायती पत्रिका डेली मेलका अनुसार ड्यारेन फ्लेचरले अन्तरिम म्यानेजरको भूमिका निभाउने छन् भने क्लबले नयाँ म्यानेजरको खोजी गर्नेछ । सोल्कसायरको स्थानमा रियल म्याड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदानलाई ल्याउने तयारी गरिएको पनि समाचारमा उल्लेख गरिएको छ । सोल्कसायले सन् २०१८ मा युनाइटेडको नेतृत्व सम्हालेका थिए ।

यसअघि, खेलको शुरुवातमा युनाइटेडका गोलकिपर डेभिड डि गेयाले वाटफोर्डको पेनाल्टी जोगाए पनि किंग र इसमाइला सारले घरेलु टोलीलाई पहिलो हाफमा दुईको गोलको अग्रता दिलाएका थिए । दोस्रो हाफमा भान डे विकले एक गोल फर्काए पनि ६९ औँ मिनेटमा कप्तान ह्यारी म्यागवायरले रातो कार्ड खाएपछि युनाइटेडलाई धक्का लागेको
थियो । यसको फाइदा उठाउँदै वाटफोर्डले इन्जुरी समयमा थप दुई गोल गर्न सफल रह्यो । पराजयसँगै युनाइटेड लिगको सातौँ स्थानमा खस्किएको छ । १२ खेलबाट युनाइटेडको मात्र १७ अंक रहेको छ । वाटफोर्ड लिगको १६ औँ स्थानमा रहेको छ ।