Breaking News

नेकपा (समाजवादी) को दोस्रो केन्द्रीय कमिटी बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

नेकपा (समाजवादी) को हिजो शनिबारबाट सुरु भएर आज सकिएको दोस्रो केन्द्रीय कमिटी बैठकले बिभिन्न निर्णय गरेको छ । बैठकले विभिन्न पार्टीबाट आएका नेताहरुलाई जिम्मेवारी प्रदान समेत गरेको छ । जसमा मालेबाट आएका कुलप्रसाद फुयाल, शंकर पोखरेल,नीलमणी बराललगायतलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय भएको छ । त्यस्तै माओवादी केन्द्रबाट आएका रामचन्द्र झालाई केन्द्रीय कमिटीमा मनोनयन गरी सचिवालयमा राख्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

त्यसैगरी एमालेबाट आएका बंशिधर मिश्रलाई स्थायी कमिटीमा लैजाने र एमालेबाटै आएका तारा जोशीलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने सो पार्टीले जनाएको छ । त्यसैगरी मालेबाट आएका श्यामराज राईलाई केन्द्रीय परिषदमा र कारीप्रसाद यादवलाई २ नम्बर प्रदेश कमिटीमा मानोनयन गर्ने निर्णय गरेको छ ।

बैठकमा सात वटै प्रदेशका इन्चार्जहरुले रिपोटिङ गरेका थिए । जसमा कर्णली प्रदेशबाट उपमहासचिव प्रकाश ज्वाला, वागमतीबाट अध्यक्ष सावित्रा भुसाल, प्रदेश २ बाट इन्चार्ज धर्मनाथ प्रसाद साहले, लुम्बिनी प्रदेशबाट भागवत विश्वासी मोर्चाका तर्फबाट वीरेन्द्र पोखरेल, प्रदेश १ बाट घनेन्द्र बस्नेत, सुदुरपश्चिमबाट इन्चार्ज गरिमा साहले रिपोटिङ गरेका थिए ।

त्यस्तै उपत्यका विशेष कमिटीका तर्फबाट विश्वनाथ प्याकुरेल, सम्पर्क कमिटीका विजय गुरुङ, प्रवासबाट श्रीप्रसाद साह र गण्डकी प्रदेशबाट इन्चार्ज केशवलाल श्रेष्ठले आआफ्नो कार्यक्षेत्रको रिपोर्ट पेश गरेका थिए ।

उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीको ६ महिने कार्ययोजना र उपाध्यक्ष प्रवेश हमालले पार्टी स्कुल विभागको कार्ययोजना पेश गरेका थिए । त्यस्तै महासचिव डा। वेदुराम भुसालले संगठन निर्माण र परिचालनको संक्षिप्त अवधारणा र उपमहासचिव विजय पौडेलले संगठनसम्बन्धी रिपोर्ट पेश गरेका थिए । बैठकले विपत व्यवस्थापनसम्बन्धी महत्वपुर्ण निर्णय पनि गरेको छ । जसले विपतमा परेका मानिसहरुलाई सहयोग गर्न पार्टी नेता कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको छ ।