कर्णाली प्रदेश सरकारका तीन मन्त्रीको पदावधि भोलिबाट सकिँदैछ

गत वैशाख ३ मा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिएपछि एमालेले आफना तीन मन्त्री अम्बरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई कारवाही गरेको थियो पछि एमाले फुटेपछि तिनै जना एकीकृत समाजवादी पार्टीबाट सरकारमा सामेल भएका थिए । पाटी नफुट्नु अगाबै उनीहरुलाई एमालेले कारवाही गरिसकेका कारण प्रदेशसभा सदस्य पद गुमाएका हुन् । कर्णाली प्रदेश सरकारका तीन मन्त्रीको पदावधि भोलिबाट सकिँदैछ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको पदावधि भोलि समाप्त हुँदैछ । प्रदेशसभा सदस्य नरहेको व्यक्ति बढीमा ६ महिनासम्म मात्र मन्त्री हुन पाउने भएकाले उनीहरु तीनै जनाको पदावधि सकिन लागेको हो । यी तीनै जना प्रदेशसभा सदस्य होइनन् । उनीहरु तीनै जना नेकपा एकीकृत समाजवादी पार्टीका हुन् ।

मन्त्री थापा नेकपा एकीकृत समाजवादीको प्रदेश अध्यक्षको जिम्मेवारीमा पनि छन् । भोलि स्वतः पदमुक्त हुने उनीहरुको ठाउँमा कसलाई मन्त्री बनाउने भन्नेबारे औपचारिक धारणा बाहिर आइसकेको छैन ।​ सम्भवतः नेकपा एकीकृत समाजवादीकै तीन प्रदेशसभा सदस्यलाई मन्त्रीको जिम्मेवारी दिइने बताइएको छ ।

एमालेले गरेको कारबाहीविरुद्ध सर्वोच्च अदालतमा उनीहरूले रिट निवेदन दिएका थिए । सर्वोच्च अदालतले उनीमाथिको कारबाहीलाई सदर गरिदिएपछि तीनै जना मन्त्रीको सांसद पद गुमेको हो ।

प्राप्त समाचार अनुसार तीन जना मन्त्रीको बर्हिगमनसँगै उक्त ठाउँमा कसलाई ल्याउने हो भन्ने बारेमा एकीकृत समाजवादी पार्टी छलफल भइरहेको छ । प्रदेशसभामा नेकपा एकीकृत समाजवादीका ३ जनामात्र सांसद छन् । सम्भवतः उनीहरूलाई नै मन्त्री बनाउने चर्चा पनि छ । आइतबार यसबारे छलफल गर्न बसेको नेकपा एकीकृत समाजवादी पार्टीको बैठकमा तीन जना प्रदेशसभा सदस्यलाई नै सरकारमा पठाउनेबारे चर्चासमेत चलेको बताइन्छ ।

पार्टीले दिएको समाचार अनुसार सांसद चन्द्रबहादुर शाहीको नेतृत्वमा देवी ओली र पदमबहादुर रोकायालाई सरकारमा पठाउनेबारे छलफल भएको बुझिएको छ।