अफगानी पूर्वराष्ट्रपति अशरफ घानीले देशमा शान्ति र स्थीरता ल्याउन नसकेको भन्दै दुःख व्यक्त

२४ भदौ, काठमाडौं । विद्रोही समूह तालिबान राजधानी काबुल प्रवेश गरेपछि देश छाडेका पूर्वराष्ट्रपति अशरफ घानीले देशमा शान्ति र स्थीरता ल्याउन नसकेको भन्दै दुःख व्यक्त गरेका छन् ।

देश छाडेको झण्डै एक महिनापछि सामाजिक सन्जालमार्फत् विज्ञप्ति सार्वजनिक गर्दै घानीले भनेका छन्, ‘मलाई अफसोस छ कि शान्ति र स्थिरताविना त्रासदीका साथ मेरो च्याप्टर पनि मभन्दा अगाडिका राष्ट्रपतिहरुको जस्तै क्लोज भयो ।’

दुई पटक राष्ट्रपति बनिसकेका घानीले १५ अगष्ट ९साउन ३१ गते० देश छाडेका थिए । उनी हाल परिवारका सदस्यहरुसहित युएईमा बस्दै आएका छन् । उनले तालिबान र तालिबान सरकारबारे भने कुनै टिप्पणी गरेका छैनन् ।

ट्वीटरमा विज्ञप्ति सार्वजनिक गर्दै घानीले आफूले नियतबस देश नछाडेको प्रष्टीकरण दिएका छन् । ६० लाख मानिस बसोबास गर्ने राजधानी काबुलमा हिंसा नहोस् भन्ने चाहेर देश छाडेर हिंडेको उनको भनाइ छ ।

सुरक्षा अधिकारीहरुको सल्लाहमा आफूले देश छाडेको बताउँदै उनले अफगानिस्तान छाड्ने क्रममा राज्यकोषबाट लाखौं अमेरिकी डलर लगेको भन्ने आरोपको खण्डन गरेका छन् । उनले भनेका छन्, ‘खर्चको सवालमा म र मेरी पत्नी इमान्दार छौं । म संयुक्त राष्ट्रसंघ वा कुनै दोस्रो स्वतन्त्र संस्थासँग अडिट गराउन तयार छु । म निकटका व्यक्तिहरु पैसासँग सम्बन्धित जानकारीका लागि अडिट गराउन तयार छौं । म सबै पूर्वराजनेता र अधिकारीहरुलाई पनि यस्तै गर्न सल्लाह दिन्छु ।’

घानीले अफगानिस्तान छाडेपछि तालिबानले राष्ट्रपति भवनसहितका सरकारी संरचनाहरु नियन्त्रणमा लिएको थियो । बुधबारमात्रै तालिबानले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गरेको छ ।