यसरी तयार भएको थियो लोकप्रिय तीज गीत : तीजको रहर आयो बरिलै…

तीजका कयौं गीत आए । हरेक वर्ष थुप्रै संख्यामा नयाँ–नयाँ तीजका गीतहरु सार्वजनिक हुन्छन् । तिमध्ये अधिकांश गीतहरु आएकै वर्ष हराउँछन् । तर एउटा तीज गीत छ, जुन वर्षौदेखि तीजमा गुञ्जिदै आएको छ । सो गीतमा महिलाहरु वर्षौंदेखि नाचिरहेका छन् । त्यो गीत तीजको पर्याय नै बनेको छ ।

र, त्यस गीतलाई उछिन्न अन्य गीतहरुले सकेका छैनन् ।

त्यो गीत हो, ‘तीजको रहर आयो बरिलै’ ।

२०४८ सालको कुरा हो । प्रकाश थापा ‘कन्यादान’ चलचित्रको तयारीमा थिए । सोही चलचित्रको गीतको लागि गीतकारको खोजीमा लागेका थिए उनी । सोही क्रममा उनी चेतन कार्कीकहाँ पुगे ।

प्रकाशले कार्कीलाई प्रस्ताव राखे, ‘नयाँ चलचित्र कन्यादान बनाउँदैछु । त्यसका लागि गीत लेख्न भ्याउनुहुन्छ रु’

थापाले कार्कीलाई गीतको सन्दर्भबारे बताएका थिए ।

थापाले भनेअनुसार त्यसलाई कल्पना गरेर कार्कीले लेखे :

‘गाऔं स्वर खोलेर दिदी र बहिनी

नाचौं न मिलेर दामली सैनी

तीजको रहर आयो बरी लै

तीजको रहर आयो बरी लै’

गीतलाई संगीत भरे, मनोहरि सिंहले । अनि स्वर दिइन् सुष्मा श्रेष्ठ (पूर्णिमा) ले ।

भिडियोमा चलचित्र ‘कन्यादान’की मुख्य कलाकार गौरी मल्ल, सुभद्रा अधिकारी, बसुन्धरा भुषाल लगायतको अभिनय छ । गौरी मल्ल विधवाको भूमिकामा, शुभद्रा उनकी साथीको भूमिकामा, अनि बसुन्धरा गाउँले संगीको भूमिकामा छन् । यीनै पात्रलाई समेटेर सो तीजको गीतको भिडियो तयार भयो । बसन्त श्रेष्ठको कोरियोग्राफीमा गीतको भिडियो बनेको हो । गीतको सुरुआतमा तीज आएको जनाउँदै दीदीबहिनीलाई स्वर खोलेर गाउन र मिलेर नाच्न संगीसाथीलाई आग्रह गरिएको छ ।

नौडाँडा काटेर गएका चेली भाग्यले भेट हुन पाएको, अर्को वर्ष भेट होला नहोला रु को कहाँ पुग्ने केही थाहा नभएकाले दुःख बिर्सिएर मनको धोको पुर्याएर गाउन आग्रह गरिएको छ । चेलिलाई माईत आउन भदौंरे भेलले नरोकेको भाव ब्यक्त गरिएको छ । त्यस्तै, तीजको दिनमा करकरे सासू, आमाजू, नन्दले दिउका आशुँ विर्सिएर रमाउन आग्रह गरिएको छ । गीतमा श्रीमानको दीर्घायुको कामना गरिएको छ ।

चलचित्र सार्वजनिक भएसँगै गीतको निकै चर्चा पायो । र, हरेक स्रोता एवं दर्शकको प्रिय गीत बन्यो । हरेक वर्ष तीजमा यस गीत अनिवार्यजस्तै बन्न पुग्यो ।

अन्य केही नेपाली चलचित्रमा तीजको गीत समावेश गरियो । तर, यस गीतले जति लोकप्रियता अरुले कमाउन सकेनन् । यसअर्थमा यो गीत तीजको लागि, महिलाहरुको लागि, स्रोताहरुको लागि एउटा स्वर्णीम कोशेली बन्यो ।

चलचित्रका निर्देशक प्रकाश थापाको वर्षौ अगाडि निधन भईसकेको छ । चलचित्रकी कलाकार एवं यस गीतको भिडियोमा देखिएकी कलाकार सुभद्रा अधिकारीको दुई वर्ष अगाडि निधन भयो । त्यस्तै, यसका गीतकार चेतन कार्कीको यसैवर्ष निधन भयो ।

तीजको पर्याय

‘कन्यादान’ र सो गीतकी कलाकार बसुन्धरा भुषाल ‘तीजको रहर आयो बरिलै‘’लाई आफूले कहिल्यै बिर्सिन नसक्ने बताउँछिन् । उनले सो गीतले आफ्नो करिअरमै बिशेष स्थान बनाएको बताइन् ।

‘यो गीत कहिल्यै पुरानो भएन् । अहिलेपनि तीजमा जहाँ गएपनि यहि गीत बजाएको, सुनेको पाउँदा एकदमै गर्व लाग्छ’ उनले भनिन् । गीत सार्वजनिक भएपछि आफूलाई तीज विशेष धेरै कार्यक्रममा प्रमुख अतिथि बनाएर बोलाएको उनी बताउँछिन् ।

‘धेरैले प्रमुख अतिथि बनाएर बोलाउन थाल्नुभयो । अहिलेसम्म बोलाउनुहुन्छ । अनि सोही गीतमा नाच्न भन्नुहुन्छ’ उनले सुनाइन् ।

गीत सदावहार हुनुमा मौलिकपन रहेको बताउँछिन् । भनिन्, ‘गीतले आम चेलिहरुको भावना बोलेको छ । तीजको संस्कृति बोकेको छ । त्यसैले सबैले मन पराउनुभएको जस्तो लाग्छ ।’

तीज भन्नेबित्तिकै आफूले सुरुमा यही गीतलाई सम्झने गरेको वरिष्ठ कलाकार नीर शाह बताउँछन् । उनले अनलाईनखबरसँग भने, –‘तीजको सन्दर्भ आएपछि सबैभन्दा बढी म चेतन दाईलाई सम्झन्छु । उहाँको यो गीतलाई सम्झन्छु ।’

उनी पछिल्लो समय तीजको कल्चरल पक्ष कमजोर हुँदै गएको र उश्रृङखल पक्ष अगाडि आएको भन्दै त्यो राम्रो नभएको बताए । त्यसैले हिजोआजका तीज गीतहरु आफूले कमै सुन्ने नीरले बताए ।

‘अनि रिमेक

यस गीतको ८ वर्षअगाडि रिमेक ९परिमार्जित० बनेको छ । रिमेकमा शम्भूजीत बासकोटाले संगीत भरे भने मञ्जु थापाले स्वर दिएकी छिन् । रिमेक भिडियोमा नेपाली चलचित्रकी अभिनेत्री करिष्मा मानन्धरसँगै बसुन्धरा भुषाल, सुभद्रा अधिकारी, सुप्रिया थापाको अभिनय छ ।

रिमेक गरिएको मिठास पहिलेकोजस्तो नभएपनि युट्युबमा राम्रो भ्यूज पाएको छ । अहिले रिमेक गरिएको गीतको भिडियोको भ्यूज १ करोड ९५ लाख वरिपरी छ । भिडियोलाई लोकदोहोरी गीतका चलेका निर्देशक एवं मोडल शंकर बिसीले कोरियोग्राफी एवं निर्देशन गरेका हुन् ।

१७ वर्षअगाडिको ‘चिटिक्कै भा छु रे’

तीजको अर्को सदावहार गीत हो, ‘चिटिक्कै भा छु रे’ । यो २०६१ सालतिर सार्वजनिक गीत हो । गीत लेखेका हुन्, राजकुमार बगरले । यसमा सुदाम थापाले संगीत भरेका हुन् भने सिन्धु मल्लले स्वर दिएकी छिन् ।

संगीतकार सुदाम र सिन्धु श्रीमान–श्रीमती हुन् । उनीहरुसँग सर–सल्लाह गरेर गीत तयार पारेको राजकुमार बताउँछन् ।

गीत सार्वजनिक भएसँग निकै चर्चा पाएको थियो । हरेक वर्ष यस गीतमा पनि महिलाहरु नाच्दै आए । लोकप्रियताकै खातिर गीतलाई दुई वर्ष अगाडि रिमेक गरिएको छ । शिव बि।कको कोरियोग्राफी एवं निर्देशनमा बनेको भिडियोमा अभिनेत्री आँचल शर्मा फिचरिङ छिन् । गीतलाई १ करोड ७५ लाख पटक हेरिएको छ । गीतकार राजकुमार गीतमा महिलाहरुको साझा कथा भएको हुनाले नै गीत रुचाईएको बताउँछन् ।

पहिले थुप्रै गीतहरु लोकप्रिय भएका छन् । यद्यपी युट्युबको व्यापकता नहुँदै सार्वजनिक ती गीतको भ्यूज कम पाइन्छ । कतिपय गीतहरु युट्युबमा भेटाइँदैन् । हरिदेवी कोइराला, बिमाकुमारी दुरा, लक्ष्मी न्यौपाने, शर्मीला गुरुङ, प्रजापति पराजुली, विष्णु माझी लगायत कलाकारहरुका तीजगीत लोकप्रिय छन् । पछिल्लो समय सार्वजनिक थुप्रै गीतले युट्युबमा करोड भ्यूज पाएका छन् ।

सात वर्ष अगाडि सार्वजनिक तीलक वली र आकृति खड्काको स्वरमा रहेको ‘हङकङको साडीले’ लाई अहिलेसम्म १ करोड ५२ लाख पटक हेरिएको छ ।

दुर्गेश थापाले दुई वर्ष अगाडि गाएको ‘बिच्च बिच्चमा’लाई युट्युबमा १ करोड ६० लाखले हेरेका छन् । त्यस्तै दुर्गेशकै गतवर्ष सार्वजनिक ‘बिच्च बिच्चमा २’लाई १ करोड ४१ लाख बढी पटक हेरिएको छ । सार्वजनिक खेम सेञ्चुरी र मधु क्षेत्रीको स्वर रहेको ‘सोँचेझै जिन्दगी रैनछ’लाई युट्युबमा १ करोड ७५ लाख पटक हेरिएको छ ।

कमला घिमिरे र खेम सेञ्चुरीको स्वरमा गतवर्ष नै सार्वजनिक तीज गीत ‘लरि लरिलै’लाई १ करोड १ करोड ४३ लाख पटक हेरिएको छ । यसवर्ष सार्वजनिक ‘चरी जेलैमा’ ‘कुरा बुझन् पर्च’ लगायतका केही तीज गीत करोड बढी हेरिएको छ ।

अनलाइनखबरबाट