टोकियो ओलम्पिकबाट जबरजस्ती स्वदेश फर्काउन खोजिएकी बेलारूसकी खेलाडी क्रिस्टिना तिमानोभस्कायाले पोल्यान्डको शरणमा

टोकियो ओलम्पिकबाट जबरजस्ती स्वदेश फर्काउन खोजिएकी बेलारूसकी खेलाडी क्रिस्टिना तिमानोभस्कायाले पोल्यान्डको शरण लिएकी छन्।

सोमबार उनी टोकियोस्थित पोलिस राजदूतावासमा पुगेको समाचार संस्था रोयटर्सले जनाएको छ।

यसअघि पोल्यान्डको विदेश मन्त्रालयका एक अधिकारीले क्रिस्टिना तिमानोभस्कायालाई मानवीय भिसा दिइएको उनले चाहे पोल्यान्डमा बसेर आफ्नो खेल जीवन अगाडि बढाउन सक्ने बताएका थिए।

भएको के थियो ?

जापानको टोकियोमा अहिले ग्रिष्मकालीन ओलम्पिक चलिरहेको छ। विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूको चर्चा पनि भइरहेको छ।

ओलम्पिकमा सहभागी हुन गएकी बेलारूसकी एक जना खेलाडी भने अहिले पदकका कारण नभई राजनीतिक कारणले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचार बनिरहेकी छन्।

बेलारूस पूर्वी युरोपको भूपरिवेष्ठित मुलुक हो। त्यहाँ २७ वर्षदेखि अलेक्जेन्डर लुकासेन्कोले तानाशाही शैलीमा शासन चलाइरहेका छन्। बेलारूसको ओलम्पिक कमिटीका अध्यक्ष तिनै लुकासेन्कोका जेठा छोरा भिक्टर लुकासेन्को छन्।

२४ वर्षीया क्रिस्टिना तिमानोभस्काया यसपालि पहिलो पटक ओलम्पिक खेल्न गएकी थिइन्। गत शुक्रबार उनले महिलाहरूको १०० मिटरको दौडमा प्रतिष्पर्धा गरेकी थिइन्। सोमबार उनी दुई सय मिटरमा दौडिने तालिका थियो। यही बीचमा उनले आफूलाई रिले दौडमा पनि राखिएको जानकारी पाइन्। केही खेलाडीको एन्टीडोपिङ परीक्षण नगरेको भन्दै बेलारूसको ओलम्पिक कमिटीले उनलाई रिले दौडमा राखेको बतायो। आफू उक्त रिले दौडका लागि खेल्न नआएको भन्दै उनले सामाजिक सञ्जालमार्फत् त्यसको विरोध गरिन्। उक्त विरोधपछि आइतबार बिहान उनका प्रशिक्षक उनको कोठामा आए र सामान प्याक गर्न भने।

समाचार संस्था रोयटर्सका अनुसार क्रिस्टिनालाई जबरजस्ती हानिदा विमानस्थलमा पुर्‍याइयो तर  उनले जहाज चढ्न अस्वीकार गरिन् र जापानी प्रहरीसँग सहयोग मागिन्।

टोकियो ओलम्पिकमा बेलारूसका प्रमुख युरी मोइसेभिचले भने क्रिस्टिनाको शारिरीक र मानसिक अवस्थाको मूल्यांकन गरेर उनलाई फिर्ता पठाउन लागिएको बताएका छन्। क्रिस्टिनाले आफ्नो शारिरीक र मानसिक दुबै स्वास्थ्य ठीक रहेको बताएकी छन्।

हानिदा विमानस्थलमा खिचिएको भिडिओमा उनले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) सँग सहयोग मागेकी छन्।

आइओसीले विज्ञप्ति निकाल्दै आफ्ना स्टाफहरू क्रिस्टिनासँग सम्पर्कमा रहेको उल्लेख गर्दै उनी सुरक्षित रहेको बताएको छ।

बेलारूस फर्किएपछि आफूलाई लुकासेन्को सरकारले जेल हालिदिने भन्दै क्रिस्टिनाले विदेशी मुलुकसँग शरण मागेकी हुन्।

केही समयअघि आफ्ना आलोचकलाई पक्राउ गर्न बेलारूसका शासक लुकासेन्कोले जहाज नै ‘अपहरण’ गरेर आफ्नो देश ल्याएका थिए। अन्तर्राष्ट्रिय प्रतियोगितामा बेलारूसका अधिकारीमाथि प्रश्न गर्ने क्रिस्टिनालाई अब बेलारूसले के गर्छ? र अन्तर्राष्ट्रिय समुदायले उनलाई कसरी संरक्षण गर्छ? भन्ने चासोको विषय बनेको छ।