प्रधानमन्त्री केपी ओलीका समर्थकहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला दहन

२८ असार, काठमाडौं । सर्वोच्चबाट प्रतिनिधिसभा बिघठनको मुद्दालाई बदर गरी संसद पुनस्थापना गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला दहन गरिएको छ । प्रधानमन्त्री केपी ओलीका समर्थकहरुले बानेश्वरमा प्रधानन्यायाधीश जबराको पुत्ला दहन गरेका हुन् ।

सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो । लगत्तै नेकपा एमालेका युवा नेता महेश बस्नेतले आदेशविरुद्ध सडकमा उत्रिन नेता, कार्यकर्ताहरुलाई आह्वान गरेका थिए ।

उनी आफैं पनि माइतीघर मण्डलामा उभिएर सर्वोच्च अदालतले गैरसंवैधानिक काम गरेको बताएका थिए । आदेश आएलगत्तै पनि एमाले कार्यकर्ताले जबराको पुत्ला जलाउने प्रयास गरेका थिए ।
साँझ बानेश्वरमा भेला भएका कार्यकर्ताले फेरि पुत्ला जलाएका हुन् । एमाले नेता सुवास नेम्वाङले पार्टीले अदालतको फैसला मान्ने बताएका छन् । तर कार्यकर्ताले प्रदर्शन रोकेका छैनन् ।