संवैधानिक निकायको अधिकार उपयोग गर्न खोजेको भन्दै खुला राजनीति मैदानमा आउन चोलेन्द्र शमशेर राणालाई महेश बस्नेतको चुनौती

२८ असार, काठमाण्डौ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरेर र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि नेकपा एमालेका सांसद महेश बस्नेतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाप्रति गालीगलौजको शैलीमा अशोभनीय टिप्पणी गरेका छन्।

सर्वोच्चको फैसलाविरूद्ध एमालेको युवा संगठन राष्ट्रिय युवा संघले आज सोमबार काठमाडौंको माइतीघर मण्डलमा गरेको विरोध सभामा बोल्दै उनले न्यायालयभित्र बसेर प्रधानन्यायाधीश राणाले कार्यपालिका, व्यवस्थापिका र अन्य संवैधानिक निकायको अधिकार उपयोग गर्न खोजेको भन्दै खुला राजनीतिका लागि मैदान आउन चुनौती दिए।

नेकपा एमालेले व्हीप उल्लंघन गर्ने सांसदलाई कारबाही गर्न पाउँदैन भनी आदेश दिएर प्रधानन्यायाधीश जबराले न्यायलयलाई अर्को राजनीतिक संस्था बनाएको आरोप बस्नेतले लगाए।

‘आज सर्वोच्च अदालतले फैसला गर्‍यो रे, नेकपा एमालेले व्हीप जारी गर्न पाउँदैन । नेकपा एमालेले व्हीप उल्लंघन गर्ने सांसदलाई कारबाही गर्न पाउँदैन । सर्वोच्च अदालतले आज आफूलाई कुनै पार्टीको घोषणा गर्न खोजेको हो ’ बस्नेतले भने।

‘म चोलेन्द्रशमशेरलाई चुनौती दिन चाहन्छु । नेकपा एमालेमा आउनुस्, तपाईं एमालेको नेता बन्ने रहर छ भने । एमालेलाई हराउने रहर छ भने कांग्रेस प्रवेश गरेर आउनुस्,’ उनले राणाको पारिवारिक पृष्ठभूमिलाई उल्लेख गर्दै भने,‘ नयाँ दल गठन गरेर आउने कुरा त तपाईंका बाउबाजेले नसकेको कुरा तपाईंले सक्नुहुन्न ।’

उनले प्रधानन्यायाधीश आफू प्रधानमन्त्री बन्ने योजनासाथ फैसला गरेको आरोप पनि लगाए ।

‘तपाईंले अहिले देउवालाई प्रधानमन्त्री बनाउने, विश्वासको मत नदिएर देउवालाई ढाल्ने अनि ६ महिनापछि नयाँ स्वरूप ग्रहण गरेर प्रधानमन्त्री बन्ने डिजाइनका साथ यो फैसला गर्न तयार हुनुभयो’, बस्नेतले भने, ‘हामी यो फैसलालाई कुनै मानेमा स्वीकार गर्दैनौं। अब मुलुक द्वन्द्वमा प्रवेश गरेको छ। राजनीतिक मुद्दा समाधान गर्ने, राजनीतिक द्वन्द्वलाई समाधान गर्ने, राजनीतिक मुद्दा ब्युँताउने र द्वन्द्व जगाउने फैसला आमजनताले मान्नेवाला छैनन्।’

शेरबहादुर देउवासँग १ सय २१ भन्दा बढी भोट नभएको भन्दै उनले १ सय ३६ भोट चाहिनेमा १ सय २१ भोट भएका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर सर्वोच्चले कार्यपालिका र व्यवस्थापिकाको, संवैधानिक निकायको अधिकार उपयोग गर्न खोजेको आरोप पनि उनले
लगाए ।

‘चोलेन्द्रशमशेरजी, जहानियाँ राणा शासन सकियो। तपाईंको थर राणा हो । तपाईंमा देखिएको यो जहाँनिया शैली अब नेपाली जनताले प्रतिकार गर्छन् । अब तपाईं फेरि अर्को चुनावी सरकार बनाएर प्रधानमन्त्री बन्ने सपना देख्नुभएको छ भने तपाईंको सपना नजन्मँदै तुहिने छ ।