युरोकप २०२० को उत्कृष्ट खेलाडीमा इटलीका गोलकिपर जियानलुजी डोनारुम्बा

२८ असार, काठमाडौं । युरोकप २०२० को उत्कृष्ट खेलाडीमा इटलीका गोलकिपर जियानलुजी डोनारुम्बा बनेका छन् । इटलीलाई ५३ वर्षपछि युरोकप जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका डोनारुम्बा प्लेअर अफ दि टुर्नामेन्ट बनेका हुन् ।

इटलीले इंग्ल्याण्डलाई फाइनलमा पेनाल्टीसुट आउटमा पराजित गर्दा उनले उत्कृष्ट प्रदर्शन गरे । डोनारुम्बाले दुई पेनाल्टी बचाएपछि इटलीले इंग्ल्याण्डलाई उसैको मैदानमा ३(२ ले पराजित गरेको हो ।

यस्तै सेमिफाइनलमा स्पेनविरुद्ध पनि पेनाल्टी सुटआउटमा जित हात पार्दा डोनारुम्बाले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले स्पेनका अल्भारो मोराटाका पेनाल्टी बचाएका थिए ।

इटलीलाई अपराजित रहँदै च्याम्पियन बन्दा डोनारुम्बाले पनि उत्कृष्ट रहे । डोनारुम्बा युरोकपमा उत्कृष्ट खेलाडी बन्ने पहिलो गोलकिपरसमेत बने । सन् १९९६ बाट युरोकपमा उत्कृष्ट खेलाडीको अवार्ड दिन सुरु गरिएको थियो ।

समूह चरणमा इटलीले तीनवटै खेल जित्दा उनले कुनै गोल खाएनन् । त्यसपछि नकआउट चरणको चारवटै खेलमा १(१ गोल बेहोरे पनि उनको प्रदर्शन उत्कृष्ट रह्यो ।