टोकियो ओलम्पिकमा दर्शकलाई सहभागी नगराउने

‘टोकियोमा दर्शकलाई अनुमति नदिने विषयमा हामी सहमतिमा पुग्यौं,’ जापानका ओलम्पिक मन्त्री तामायो मारुकावाले भने । यसअघि नै आयोजकले विदेशी दर्शकलाई प्रवेश निषेध गर्ने निर्णय गरिसकेको छ ।

जापान सरकारले टोकियोमा संकटकाल लागू गरेपछि ओलम्पिकमा दर्शकलाई निषेध गर्ने निर्णयमा आयोजक पुगेको हो । टोकियोमा पछिल्लो समय कोभिड–१९ को संक्रमण बढ्दै गएको छ । जसका कारण ओलम्पिकमा दर्शकलाई प्रवेशको अनुमति नदिने भएको हो ।

जापानी प्रधानमन्त्री योशिहिदे सुगाले कोभिड–१९ को डेल्टा भेरियन्ट फेलिरहेकाले टोकियोलाई सुरक्षित राख्न आवश्यक रहेको बताएका छन् ।
टोकियो २०२० का अध्यक्ष सेइको हासिमोटोले दर्शकलाई प्रवेश अनुमति दिन नपाउँदा दुःख लागेको बताए । उनले ओलम्पिकका लागि टिकट लिइसकेकाहरुसँग माफी समेत मागेका छन् ।

ओलम्पिक शुरु हुन अब दुई साता मात्र बाँकी छ । ३१औं गृष्मकालीन ओलम्पिक जुलाई २३ देखि अगष्ट ८ सम्म जापानमा आयोजना हुँदैछ । जहाँ ३३ खेलका ३३९ इभेन्ट हुनेछन् । प्रतियोगितामा करिब ११ हजार खेलाडीले सहभागिता जनाउनेछन् ।
फुटबल र सफ्टबलका खेलहरु भने जुलाई २१ मै शुरु हुनेछन् ।