श्रीलंकामा भाइ राष्ट्रपति, दाइ प्रधानमन्त्री, काका-भतिजा मन्त्री

एजेन्सी

श्रीलंकाको क्याबिनेटमा राजापाक्षे परिवारबाट नयाँ सदस्य थपिएका छन्।

बिहीबार ७० वर्षीय बासिल राजापाक्षेले श्रीलंकाको अर्थ मन्त्रीको सपथ लिएका छन्। बासिल राष्ट्रपति गोटवाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेका भाइ हुन्।

कोरोनाभाइरस महामारी र त्यसले पर्यटनमा पारेको प्रभावले श्रीलंकाको अर्थतन्त्र समस्यामा परेका बेला गोटवायाले भाइलाई अर्थ मन्त्रालयको जिम्मेवारी सुम्पिएका हुन्।

अहिले प्रधानमन्त्री रहेका ७५ वर्षीय महिन्दा सन् २०१५ सम्म श्रीलंकाका राष्ट्रपति थिए। उनी राष्ट्रपति हुँदा भाइ बासिलले आर्थिक रणनीति बनाउँथे।

बासिलको प्रवेशसँगै राजापाक्षे परिवारबाट क्याबिनेटमा पाँच जना पुगेका छन्।

राजापाक्षेका जेठा दाजु ७८ वर्षीय छामल सिँचाइ मन्त्री छन्। महिन्दाका छोरा ३५ वर्षीय नमाल राजपाक्षेलाई युवा तथा खेलकुद मन्त्री बनाइएको छ।

राजापाक्षे परिवारका अन्य थुप्रै सदस्यहरूले सहायक मन्त्री र अन्य प्रशासनिक पद सम्हालेका छन्।

यसअघि सन् २००७ मा अमेरिकी राजदूतावासले उनलाई ‘मिस्टर १० प्रतिशत’ भनेको थियो। यो कुरा विकिलिक्सले लिक गरेको केबलमा देखिएको थियो। सरकारसँग गरेका ठेक्का सम्झौतामा उनले कमिसन लिएकाले अमेरिकी दूतावासले उनलाई त्यस्तो उपनाम दिएको हो। बासिलले भने आफूले कुनै गल्ती नगरेको दाबी गर्दै आएका छन्।

अमेरिकाको पनि नागरिकता लिएका बासिललाई सन् २०२० को चुनाव लड्न प्रतिबन्ध लगाइएको थियो। तर उनलाई संसदमा ल्याउन राष्ट्रपति गोटवायाले संविधानको व्यवस्था नै खारेज गरिदिएका थिए।