स्पेनिस फरवार्ड अल्भारो मोराटाले आफ्नो परिवारलाई ज्यान मार्ने धम्की

स्पेनिस फरवार्ड अल्भारो मोराटाले आफ्नो परिवारलाई ज्यान मार्ने धम्की आएको बताएका छन्। युरो २०२० को खेलको विषयलाई लिएर यस्तो धम्की आएको मोराटाले बताएका हुन्। इटालीयन क्लब युभेन्ट्सका २८ वर्षीय खेलाडी मोराटाले आफ्नी श्रीमती र सन्तानलाई स्पेनिस शहर सेभियामा भएको खेलको दौरान धम्की आएको स्पेनिस रेडियोसँग कुरा गर्दै बताएका हुन्।

मेरी श्रीमती र बच्चाहरू सेभियाको रंगशालामा मोराटा लेखिएको जर्सी लगाएर खेल हेर्न गएका थिए। त्यहिँ बेला मानिसहरु उनीहरुलाई संकेत गर्दै गाली गरिरहेका थिए, उनले क्याडेना कोप स्टेशनलाई भनेका छन्।

मानिसहरूले मेरा बच्चाहरु मरुन् भनेर भनिरहेका थिए। मेरो परिवारलाई यस्तो धम्की दिँदा कस्तो हुन्छ भनेर सोच्न सक्दिन।

उनले अघि भनेका छन्,मलाई थाहा छ मैले पाएको अवसरमा गोल गर्न नसक्दा मानिसहरू चिच्याइरहेका थिए।

स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबाट युभेन्ट्समा लोनमा रहेका मोराटाले युरो २०२० मा गोल गर्ने दर्जनौ अवसर खेर फालिसकेका छन्।

उनले बुधबार स्लोभाकियाविरुद्ध पेनाल्टी पनि मिस गरेका थिए।

युरो २०२० अघि भएको पोर्चुगलविरुद्धको मैत्रीपूर्ण खेलमा पनि उनलाई समर्थकले हुटिङ गरेर विरोध गरेका थिए।

त्यसपछि युरो २०२० मा समूह चरणमा स्विडेनविरुद्धको गोलरहित बराबरी र पोल्यान्डविरुद्धको बराबरीमा पनि समर्थकहरू उनीमाथि खनिएका थिए।

स्पेनले अन्तिम १६ मा क्रोएसियासँग आगामी सोमबार राति प्रतिस्पर्धा गर्दैछ।