८ असार, काठमाडौं । युरोकप २०२० को नकआउट चरणको अन्तिम १६मा बेल्जियम प्रवेश गरेको छ । बेल्जियम समूहमा अपराजित रहँदै अन्तिम १६मा पुग्न सफल भएको हो ।
समूह बी अन्तर्गतत हिजो राति भएको समूह चरणको अन्तिम खेलमा फिनल्याण्डलाई २-० ले पराजित गर्दै बेल्जियमले बिजयी भएको हो ।
रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले एक गोल गरे भने एक गोल उपहार पाएको थियो ।
पहिलो हाफ गोलरहित बराबरी सकिए पनि दोस्रो हाफमा आत्मघाती गोलबाट बेल्जियमले अग्रता बनायो ।
फिनल्याण्डका गोलकिपर लुकास ह्राडेकीले ७५औं मिनेटमा आत्मघाती गोल गरे । ८१औं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई २-० को जित दिलाए । उनले केभिन डे ब्रुएनाको पासमा गोल गरे ।
त्यसअघि ६५औं मिनेटमा लुकाकुले गोल गरे पनि अफसाइड देखिएकोले मान्यता पाएन ।
जितपछि बेल्जियम ३ खेलबाट ९ अंक जोड्दै समूह बी को विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ ।