रोनाल्डोले खेलको अन्तिम समयमा चमक देखाउंदै पोर्चुगललाई विजयी गराए

हिजो मंगलबार भएको खेलमा पोर्चुगलले घरेलु टिम हंगेरीलाई ३(० गोलले पराजित गरेको छ । पोर्चुगलको जितमा गुरेरोले एक गोल तथा कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी दुई गोल गरे।

खेलको ८४ मिनेटमा पोर्चुगलका राफा सिल्भाको प्रहार डिफ्लेक्ट भएर गुरेरोको खुट्टामा पुगेको थियो। जसमा गुरेरोले हानेको प्रहारले गोल पोस्टको दिशा लियो। खेलको ८७ मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गरे।

हंगेरीका ओर्बानले राफा सिल्भालाई फल गरेपछि पेनाल्टी दिइएको थियो। प्राप्त अवसरमा रोनाल्डो चुकेनन्।

रोनाल्डोले दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे।

खेलमा रोनाल्डोले तीन वटा रेकर्ड बनाए। उनी युरो कपमा सर्वाधिक गोल गर्ने खेलाडी बने भने लगातार पाँच युरोमा गोल गर्ने पहिलो खेलाडी बने। साथै उनी पाँच युरो कप खेल्ने पहिलो खेलाडी पनि बने।