२९ जेठ, काठमाण्डौ । गए राति कुवेत सिटीमा भएको खेलमा लगातार सातौं जित निकाल्दै अस्ट्रेलिया विश्वकप छनोटको तेस्रो चरणमा पुगेको छ।
अस्ट्रेलिया विश्वकपको तेस्रो चरणमा पुग्नुका साथै एसियन कप २०२३ का लागि पनि छनोट भएको छ।
सातौं जित निकाल्ने क्रममा शुक्रबार अस्ट्रेलियाले नेपाललाई ३-० गोलले पराजित गर्यो।
यता विश्वकप छनोटबाट बाहिरिसकेको नेपालको एसियन कपको तेस्रो चरणमा सिधा पुग्ने सम्भावना पनि सकिएको छ। अब नेपालले प्लेअफबाट तेस्रो चरणमा लागि पुग्न प्रतिस्पर्धा गर्नु पर्नेछ।
शुक्रबार छैटौं मिनेटमा अस्ट्रेलियाले अग्रता लियो। उसका लागि म्याथ्यु लकीले पहिलो गोल गरे।
३८ मिनेटमा अस्ट्रेलियाका काराकिकले दोस्रो गोल गरे।
खेलको ४५ मिनेटमा नेपाल १० खेलाडीमा सीमित बन्यो। नेपालका रोहित चन्दले सिधा रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए। उनले अस्ट्रेलियाका मार्टिन बोयललाई लडाएका थिए ।
५७ मिनेटमा अस्ट्रेलियाका लागि बोयलले तेस्रो गोल गरे।
दोस्रो हाफभर १० खेलाडीमा खेलेको नेपालका लागि कप्तान तथा गोलकिपर किरणकुमार लिम्बुले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले अस्ट्रेलियाका आधा दर्जन प्रहार विफल पारेका थिए।
समूह ुबीु मा २१ अंक जोडेको शीर्ष स्थानको अस्ट्रेलियाले अहिलेसम्म खेलेका ७ वटै खेलमा जित हात पार्यो। दोस्रोको स्थानको जोर्डनको १३ अंक छ भने तेस्रो स्थानका कुवेत १० अंक छ। जोर्डन र कुवेतले ६-६ खेल खेलका छन्।
नेपाल ६ अंक जोडेर अंक तालिकाको चौथो बन्यो। नेपालले चाइनिज ताइपेईलाई दुवै लेगमा समान २-० गोलले पराजित गर्दा अरु तीन टिमसँग दुवै खेलमा पराजय भोग्यो।
पाँचौ स्थानको चाइनिज ताइपेईले खेलेका सबै खेलमा हार बेहोरेकाले अंक जोड्न सकेको छैन।
नेपाल र अस्ट्रेलियाबीच सन् २०१९ मा यहि छनोटको पहिलो लेगमा प्रतिस्पर्धा भएको थियो। क्यानबेरामा भएको सो खेलमा अस्ट्रेलियाले नेपाललाई ५-० गोलले पराजित गरेको थियो।