जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह नयाँ दल दर्ता तयारीमा

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह नयाँ दल दर्ता तयारीमा जुटेको छ । जसपामा अल्पमतमा रहेका ठाकुर र महतो समूह निर्वाचन आयोगमा केन्द्रीय कार्यकारिणी समिति बहुमत सदस्यको हस्ताक्षर बुझाउन नसकेपछि नयाँ दल दर्ता तयारीमा जुटेको हो ।

जसपा कार्यकारिणी समिति ५१ सदस्यीय छ । जसमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट २६ र संघीय समाजवादीबाट २५ जना थिए । तर, तत्कालीन राजपाका तर्फबाट कार्यकारिणी समितिमा रहेका नवलकिशोर साह, रामनरेश यादव, महेन्द्रराय यादव, रमेश यादव, मृगेन्द्रकुमार सिंह यादव र गजाधर यादवले अन्तिम समय ठाकुर र महतोको साथ छोडेका छन् ।

जसपा नेताका अनुसार ठाकुर समूह अल्पमतमा परेपछि नयाँ दल दर्ता तयारीमा छ । ‘कार्यकारिणी समितिमा अल्मतमा परेपछि ठाकुर र महतोजीहरू नयाँ दल दर्ताका लागि आन्तरिक तयारीमा हुनुहुन्छ,’ जसपा स्रोतले शुक्रबार राजधानीसँग भन्यो । यो समाचार राजधानी दैनिकमा छ ।