दाजुको सम्झनामा फुटबल खेल्दा भाइको मृत्यु

इटलीका २९ वर्षीय फुटबलर जुसेप्पे पेर्रिनोको निधन भएको छ । आफ्ना दाइको सम्झनामा आयोजित फुटबल म्याच खेल्दै गर्दा उनको मृत्यु भएको हो ।

नेपल्स नजिकैको पोग्गियोमारिनोमा यो म्याच आयोजित भएको थियो । खेलका दौरान पेरिनो कार्डियक एरेस्टको शिकार भए ।

बाइक दुर्घटनामा जुन २०१८ मा उनका दाजुको मृत्यु भएको थियो । दाईकै संझनामा यो खेल आयोजित थियो । पेर्रिनोको पूर्व क्लब पर्माले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारलाई सन्देश पठाएको छ ।

‘पर्मा काल्सियो १९१३ मा आबद्ध सबैजना यतिबेला पेर्रिनोको परिवारबारे सोचिरहेका छौं,’ क्लबले ट्वीटमा लेखेको छ ।

फुटबलमा कहिलेकाँही यस्ता दुखद् घटना निम्तिने गर्छन् । पछिल्लो जनवरीमा पनि एलेक्स एपोलिनारियो नामक फुटबलको हृदयघातका कारण खेलमैदानमै मृत्यु भएको थियो ।