अब १४ टिमले एकदिवसीय क्रिकेट विश्वकप खेल्ने, टी २० मा २० टिम

२०२७ को पुरुष एकदिवसीयविश्वकपमा १४ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको बोर्ड बैठकले यस प्रतियोगितामा सहभागी टोलीहरुको संख्या बढाउने निर्णय गरेको हो ।
आईसीसीले २०२३ देखि २०३१ सम्मका लागि सार्वजनिक गरेको नयाँ क्यालेन्डरमा यस्ता धेरै हेरफेर देखिएको छ । जसअन्तर्गत प्रत्येक दुई वर्षमा आयोजना हुने टी २० विश्वकपमा पनि २० टोली सहभागी हुनेछन् ।

त्यसैगरी ५० ओभरको च्याम्पियन्स ट्रफी पनि फेरि सञ्चालन हुनेछ । पछिल्लोपटक २०१७ मा आयोजना भएको च्याम्पियन्स अब २०२५ र २०२९ मा आयोजना हुनेछ ।
अहिले जारी रहेको वर्ल्ड टेस्ट च्याम्पियनसिपलाई २०२५, २०२७, २०२९ र २०३१ मा पनि निरन्तरता दिइने आईसीसीले निर्णय गरेको छ ।

यद्यपी सबैभन्दा महत्वपूर्ण परिवर्तन भने २०२७ र २०३१ को एकदिवसी विश्वकप नै हो । २०१५ को संस्करणपछि आईसीसीले विश्वकपमा सहभागी टोलीको संख्या १० मा झार्ने निर्णय गरेको थियो । लगत्तै, धेरै टोलीहरुलाई मौका दिनुपर्ने आवाज निरन्तर उठिरह्यो ।

अहिलेको निर्णयअनुसार अब २०२३ मा भारतमा आयोजना हुने विश्वकप नै १० टोलीले खेल्ने अन्तिम विश्वकप हुनेछ ।
त्यसैगरी टी २० विश्वकपमा २० टोलीहरुलाई चारवटा समूहमा विभाजन गरिनेछ । प्रत्येक समूहमा पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन् र समूहमा शीर्ष दुई स्थान हासिल गर्ने टोली सुपर आठ चरणमा पुग्नेछन् । त्यसपछि सेमिफाइनल र फाइनल खेल हुनेछ । २०२४, २०२६, २०२८ र २०३० मा आयोजना यस्तै फम्र्याटमा प्रतियोगिता आयोजना हुनेछ ।