संसारभरि ८० लाख मानिसको धुमपानले ज्यान लियो तरपनि धुमपान गर्नेहरू घटेनन् बरू बढे।

एजेन्सी

सन् २०१९ मा  संसारभरि ८० लाख मानिसको धुमपानले ज्यान लियो। तर त्यसयता धुमपान गर्नेहरू घटेनन् बरू बढे।

मेडिकल जर्नल लान्सेटमा प्रकाशित नयाँ रिपोर्टका अनुसार अहिले संसारमा १ अर्ब १० करोड मानिसले धुमपान गर्ने गरेका छन्। धुमपान गर्नेहरूको संख्यामा यो नयाँ रेकर्ड हो। विभिन्न मुलुकहरूले धुमपान नियन्त्रणमा गरेका प्रयासका बाबजुद् अम्मलीहरूको संख्या बढेको हो।

उक्त अनुसन्धानका लेखकले सरकारले २५ वर्षमुनिका मानिसलाई धुमपानबाट अलग राख्न प्रयास गर्नु पर्ने सुझाव दिएका छन्। किनभने अहिले धुमपान गरिरहेकाहरूमध्ये ८९ प्रतिशतलाई २५ वर्ष पुग्नुअघि नै धुमपानको लत बसेको थियो। त्यतिञ्जेल धुमपान नगरेकाहरूले पछि धुमपान सुरू गर्ने सम्भावना कम हुन्छ।

‘कलिला मानिसहरूको लतमा फस्ने सम्भावना बढी हुन्छ। हरेक वर्ष सरकारले नयाँ अम्मलीहरूलाई रोक्न सकेनन् भने धुमपानको महामारी कयौं वर्षसम्म जारी रहनेछ,’ उक्त रिपोर्टकी प्रमुख लेखक मारिसा रेइत्स्माले भनिन्।

१० मुलुकमा  संसारका दुई तिहाइ बढी धुमपान गर्नेहरू छन्। ती मुलुकहरू चीन, भारत, इन्डोनेसिया, रूस, अमेरिका, बंगलादेश, जापान, टर्की, भियतनाम र फिलिपिन्स हुन्। जसमध्ये चीनमा झन्डै तीन जनामध्ये एक जनाले धुमपान गर्छन्। चीनमा ३४ करोड १० लाख मानिसले धुमपान गर्छन्।

धुमपान गर्नेहरूको औसत आयु कहिल्यै धुमपान नगर्नेहरूको भन्दा १० वर्ष कम हुने अध्ययनहरूले देखाएका छन्।

अनुसन्धानकर्ताहरूले २०४ देशमा अध्ययन गरेर धुमपान गर्नेहरूको नयाँ संख्या निकालेका हुन्। तीमध्ये १०० भन्दा बढी मुलुकले १५ देखि २४ वर्षका मानिसहरूलाई धुमपानबाट रोक्न कुनै प्रगति नगरेको देखिएको थियो। धुमपान सुरू गर्ने औसत उमेर १९ वर्ष हो।

सन् २००५ मा संसारका १८२ मुलुकले टोबाको नियन्त्रण कन्भेन्सनमा हस्ताक्षर गरेका थिए। तर टोबाको नियन्त्रणका लागि हरेक देशमा फरक-फरक नीतिहरू लागु भएका छन्।