उपाधि दिलाएपछि इन्टर छाडे कोन्टेले, रियल वा स्पर्स जाने चर्चा

इन्टर मिलानलाई ११ वर्षपछि पहिलो इटालियन सिरिए ए उपाधि दिलाएको तीन हप्तापछि एन्टोनियो कोन्टेले क्लबको म्यानेजर पदबाट राजीनामा दिएका छन् । ५१ वर्षीय इटालियन प्रशिक्षकले इन्टरमा दुई वर्ष बिताएका थिए भने उनको करारमा अझै एक वर्ष बाँकी रहेको थियो ।

क्लबले एक वक्तव्य जारी गर्दै कोन्टेलाई ‘अद्भूत कार्य’का लागि धन्यवाद दिएको छ । इन्टरले दुई पक्षले आपसी समझदारीमा करार अन्त्य गरेको पनि जनाएको छ ।

जिनेदिन जिदानले क्लब छाड्ने हल्लासँगै कोन्टेको नाम रियल म्याड्रिडसँग जोडिएको छ । त्यस्तै, उनी इङ्ग्लिस क्लब टोनटह्याम हटस्पर्स जाने पनि चर्चा रहेको छ ।

इटालीको शीर्ष लिगमा युभेन्टसको एकल अधिपत्य अन्त्य गरे पनि इन्टरमा कोन्टेको भविष्यबारे यसअघिदेखि नै अन्योल रहेको थियो । इन्टरका मालिक चिनियाँ कम्पनी सुनिङ आर्थिक दबाबमा रहेको छ र यो सिजन उसले क्लबमा खर्च घटाउन धेरै खेलाडी बेच्न लागेको छ । गत फेब्रुअरीमा सुनिङको स्वामित्व रहेको जियाङ्सु एफसी पहिलो चिनियाँ सुपर लिग उपाधि जितेको तीन महिनामा खारेज भएको थियो ।

कोन्टेको स्थानमा युभेन्टसका पूर्व म्यानेजर मासिलियानो एलेग्री र लाजियोका प्रशिक्षक सिमोनी इन्झाजीको नाम चर्चामा छ ।