शीतल निवास गेटमा १० मिनेट ४ जना पूर्वप्रधानमन्त्री रोकिदा

गत शुक्रबार दिउँसो ४ बजे प्रधानमन्त्रीको दाबी गर्दै १ सय ४९ जना सांसदको हस्ताक्षर लिएर राष्ट्रपति कार्यालय,शीतल निवास पुग्नुभएका पूर्वप्रधानमन्त्री चार जनालाई बाहिरको गेटमा १० मीनेट रोकिएको बताइन्छ ।

पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल एवम् जसपा नेता तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलगायतका नेताहरुलाई शीतल निवासको गेटमा सोधपुछको नाममा १० मीनेट रोकिएको थियो ।

भित्र प्रधानमन्त्री केपी शर्मा ओलीले भेटघाट गरिरहनुभएको थियो । त्यहि कारण पनि उहाँहरुलाई एकछिन अल्मल्याउन त्यसो गरिएको हुनसक्ने त्यहाँ गएका एक जना नेताले बताएका छन् । बल्लबल्ल भित्र छिरेका नेताहरुलाई पाहुनाकक्षमा अर्को ४० मीनेट कुराइएको थियो । तर, त्यतिबेलासम्म चिया,कफी वा पानीको सोधनीसमेत नगरिएकाले उहाँहरुले अचम्म मान्नुभयो ।

तर,शीतल निवास स्रोतले कोरोनाको कारण चिया,कफी र पानीको औपचारिकता नगरिएको बताएको छ । अन्य नेताले सामान्य ढंगले लिए पनि देउवाले भने उक्त घटनालाई मानमर्दनको हिसाबले बुझ्नुभएको बूढानीलकण्ठ स्रोतले बतायो । पश्चिम नेपालको ठकुरी समुदाय र राणा खान्दानका ज्वाईं भएकाले उहाँले औपचारिकता खोज्नु अस्वाभाविक पनि होइन ।

उहाँ कतिसम्म औपचारिक हुनुहुन्छ भन्ने कुरो ०७० सालको संविधानसभा सदस्यको सपथ ग्रहण समारोहमा देखिएको एकजना माननीयले बताएका छन् । बानेश्वर संसद भवनमा सपथ ग्रहणको तयारीवीच बसेर चिया खाँदा देउवाको दौराको तल्लो फेरोमा एक थोपा चिया खसेको थियो । अरुले भए बाथरुम गएर दौरा पुछपाछ पारी आउँथे तर उहाँ भने शपथ ग्रहणपछि गरौंला भन्दै दौरा सुरुवाल फेर्न तत्काल गाडी चढेर बूढानीलकण्ठस्थित घर पुग्नुभएको थियो ।

जनआस्था साप्ताहिकबाट