सीमा नाका महोत्तरीमा सशस्त्र प्रहरी र भारतीय व्यापारीको समूहबीच झडप एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते

१० जेठ, महोत्तरी । नेपाल–भारत सीमा नाका महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ मा सशस्त्र प्रहरी र भारतीय व्यापारीको समूहबीच झडप भएको छ । झडपमा एक जना सशस्त्र प्रहरी र आठ जना भारतीय व्यापारी घाइते भएका छन् ।

बोर्डर आउट पोष्ट (बीओपी) मटिहानीका प्रहरी निरीक्षक बलराम गौतमका अनुसार गएराति करीब ८ बजे ५०÷६० जनाको भारतीय समूहले २ नं. बोर्डरमा खटिएका प्रहरीहरुमाथि ढुंगामुढा गरेका थिए । ढुंगामुढाबाट ड्युटीमा खटिएका सशस्त्र प्रहरी जवान विवेक ढकालको टाउको फुटेको छ । सो समूहले कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत तोडफोड गरिदिएको प्रहरीले जनाएको छ ।

स्थानीयले भारततर्फबाट एक हुल मानिस आएर सशस्त्र प्रहरीमाथि ढुंगामुढा गरेको बताएका छन् ।

यता भारतीय व्यापारीहरुले भने सशस्त्र प्रहरीका जवानहरुले सरसामान सीमा कटाएवापतको पैसा माग्न खोजेको र नदिंदा कुटपिट गरेको बताएका छन् । सशस्त्र प्रहरीको कुटाइबाट आठ भारतीय व्यापारी घाइते भएको उनीहरुको भनाइ छ ।