ओलीले सोधको स्पष्टीकरणको जवाफ माधव नेपालसहितका ११ जना नदिने

१० जेठ, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ वरिष्ठ नेता माधवकुमार नेपालसहितका ११ जना नेताले नदिने ।

प्रधानमन्त्री पदका लागि काँग्रेस सभापति शेरबहादुर देउवाले पेश गरेको दावीमा हस्ताक्षर गरेको भन्दै नेता नेपालसहित उनी पक्षका ११ जना सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय एमाले ओली पक्षले गरेको थियो ।

नेता भीम रावलले स्पष्टीकरणको जवाफ दिन जरुरी नभएकाले आफ्नो समूह नदिने निष्कर्षमा पुगेको बताए ।

ओली आफै अवैधानिक भैसकेकोले उनले सोधेको स्पष्टीकरणको कुनै अर्थसमेत नभएकाले जवाफ दिन जरुरी नठानेको रावलको भनाइ छ ।

‘पार्टी एकताको कुरा भइरहेका बेलामा संविधानको धारा ४ पनि उल्लंघन गर्ने, ५ पनि उल्लंघन गर्ने, प्रतिनिधिसभा विघटन गर्ने र हामीलाई फेरि स्पष्टीकरण सोध्ने केपी ओलीको यो निरंकुश स्वेच्छाचारी, पार्टी विधान र कानुन विपरितको कामलाई पूर्णरुपमा हामी अस्वीकार गर्छौ’, नेता रावलले ओलीमाथि प्रश्न गरे, ‘के यो एमाले पार्टी ओलीको आफ्नो कम्पनी हो ? बपौती हो ?

एमाले पार्टी ओलीको बपौती या कम्पनी हुन नसक्ने भन्दै पटकपटक स्पष्टिकरण सोधेपछि त्रसित होलान्, भ्रम सिर्जना होला र अरु पनि डराउलान् भनेर पठाएका कथित पत्रको कुनै औचित्य नभएकाले अस्वीकार गर्ने निर्णयमा पुगेको
बताए ।

एमालेको नवौं राष्ट्रिय महाधिवेशनको निर्णय र त्यसको विधान उल्लंघन गरेर ओलीले कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटि बनाएको भन्दै त्यही अवैद्य कमिटीको अध्यक्ष आफैलाई ओलीले घोषणा गरेकाले अवैध गतिविधिलाई मान्यता दिन नसकिने रावलको भनाइ छ ।