चीनमा क्रस–कन्ट्री दौड प्रतियोगितामा भाग लिएका २१ जना धावकको मृत्यु

९ जेठ, काठमाडौं । चीनमा क्रस–कन्ट्री दौड प्रतियोगितामा भाग लिएका २१ जना धावकको मृत्यु भएको छ ।
गान्सु प्रान्तको येलो रिभरस्टोन फरेस्टमा प्रतियोगिता भइरहेको बेला एक्कासी चिसो बढेर हुरी र वर्षा भएका कारण ती धावकको मृत्यु भएको चीनको सरकारी सञ्चार माध्यमले बताएका छन् ।

खोजी तथा उद्धार टोलीले आज २१ वटा शव फेला पारेको ग्लोबल टाइम्सले जनाएको छ । एक सय किलोमिटर क्रस कन्ट्री दौडमा १७२ जना धावक सहभागी भएको र १५१ जनालाई जीवित फेला पारेको पिपुल्स डेलीले जनाएको छ । केही घाइते भएकाले अस्पतालमा उपचार भइरहेको छ ।

प्रतियोगिता भइरहेको बेला केही धावक हराएपछि प्रतियोगिता स्थगित गरिएको थियो । त्यसपछि खोजीका लागि टोली परिचालन गरिएको थियो ।