नाइजेरियाका सेना प्रमुखको जहाज दुर्घटनामा मृत्यु

अफ्रिकी मुलुक नाइजेरियाका सेना प्रमुखको जहाज दुर्घटनामा मृत्यु भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार शुक्रबार सेना प्रमुख  इब्राहिम अत्ताहिरूसहित अन्य उच्च सैन्य अधिकारी चढेको जहाज  उत्तरी राज्य काडुनामा दुर्घटनामा परेको हो। दुर्घटनामा परी अन्य १० उच्च सैनिक अधिकारीको मृत्यु भएको जनाइएको छ।

नाइजेरियाको हवाई सेनाले कडुना विमानस्थलनजिकै जहाज दुर्घटनामा परेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ।

तीन महिनाअघि नाइजेरियन एयर फोर्सको यात्रुवाहक जहाज इन्जिन फेल भएपछि अबुजा विमानस्थलनजिकै दुर्घटनामा परेको थियो।

अफ्रिकाको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक नाइजेरियामा हवाई उडान सुरक्षामा राम्रो  इतिहास छैन।

नाइजेरियाका राष्ट्रपति मुहमद्दु बुहारीले गत जनवरीमा अत्ताहिरूलाई सेना प्रमुख नियुक्त गरेका थिए।