बिपक्षी दलहरु कानूनी लडाई लड्ने तयारीमा

८ जेठ, काठमाडौं । मध्यरातमा राष्ट्पतिले संसद विघटन गरेर मध्यवधि चुनावको घोषणा गरेपछि अहिले केही बेरमा बिपक्षी दलहरुको बैठक बस्दैछ । दलहरुले संसद् विघटन विरुद्ध कानुनी लडाइँ लड्ने तयारी गरेका छन् । त्यसबारे छलफल गर्न गठबन्धनमा आबद्ध दलका नेताहरुको संयुक्त बैठकमा छलफल गरिने समेत बताइएको छ ।

गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चाकी नेतृ एवं प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले भनिन् ‘बैठकमा कानुनी उपचार खोज्ने विषयमा केन्द्रीत रहेर छलफल गर्ने तयारी छ ।’

हिजो शुक्रबार विपक्षी गठबन्धनले १४९ सांसदको हस्ताक्षर सहित वैकल्पिक प्रधानमन्त्रीको रूपमा काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई अघि सारेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूलाई १५३ सांसदको समर्थन रहेको भन्दै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

तर, राष्ट्रपति विद्यादेवी भण्डारीले दुवैको दाबी नपुगेको भन्दै मध्यराति संसद विघटन गरी कात्तिक अन्तिम साता र मंसिर पहिलो साता चुनावको मिति घोषणा गरेकी छन् । यसअघि पनि गत पुष ५ गते पनि संसद विघटन गरिएको थियो । तर सर्वोच्चले फागुन ११ गतेको फैसलाबाट त्यसलाई उल्टाइदिएको थियो ।