चार वटा सवारीसाधन आपसमा ठोकिदा तीन जना घाइते

७ जेठ, काठमाडौं । आज बिहान भक्तपुरमा चार वटा सवारीसाधन आपसमा ठोक्किएका छन् ।
सूर्यविनायक नगरपालिका–९ स्थित नलिनचोकमा चार वटा सवारीसाधन आपसमा ठोक्किएका हुन् ।

सो दुर्घटना हुँदा तीन जना घाइते समेत भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक लोक जिसीले जानकारी दिए ।
बिहान पौने ८ बजे जगाती जाँदै गरेको प्रदेश नम्बर ३–०१–००३ क ६६४३ नम्बरको दूधको ट्यांकर र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नम्बर १–०२–००१ ख ८४०० नम्बरको ट्रक आपसमा ठक्किएका थिए ।

प्रहरी निरीक्षक जिसीका अनुसार घाइते हुनेहरू ट्रकमा सवार थिए। सो दुइटा सवारीसाधन ठक्कर खाएपछि छेउमा रहेका अन्य सवारीसाधनमा पनि ठोक्किन पुगेका हुन् ।
प्रदेश ३– ०१–०२२ च ०९३९ नम्बरको कारलाई पछाडिबाट ठक्कर दिएको थियो भने बा २१ च ६०१० नम्बरको स्कार्पिओ गाडीमा पनि ठोक्किन पुगेको हो । स्कार्पिओ गाडी पार्किङमा राखिएको थियो ।

ती दुबै सवारीसाधनमा पनि सामान्य क्षति पुगेको छ ।

दुर्घटनामा परी घाइते हुनेहरूकको डा. ईवामुरा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको कसैको हात वा खुट्टामा चोट लागेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरी निरीक्षक जिसीले बताए ।

’दुर्घटना हुनुको कारण अहिले खुलिसकेको छैन ।