‘राष्ट्रपतिले संविधानको धारा ७६ (३) अनुसार बनेको प्रधानमन्त्री पदमुक्त नभइ आह्वान गर्नु असंवैधानिक कदम हो

नेकपा माओवादी केन्द्र

६ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि संविधानको धारा ७६ (५) अनुसार भोलि बेलुका ५ बजे भित्रको समयसीमा तोकि दिएपछि त्यसबारेमा आफ्नो धारणा राख्दै नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पदमुक्त नभइ आह्वान गर्नु असंवैधानिक भएको जनाएको छ । संविधानको धारा ७६ (३) अनुसार बनेका प्रधानमन्त्रीले राजीनामा नगरी ७६ (५) अनुसार सरकार गठन प्रक्रिया सुरु गर्नु आपत्तिजनक र असंवैधानिक भएको माओवादी केन्द्रको भनाइ छ ।

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङले संवैधानिक रुपले संविधानको धारा ७६ को ३ अनुसार बनेको सरकारले उपदफा ४ को अभ्यास गर्नुपर्ने भएपनि उक्त उपदफाको प्रयोग गर्दिन भनेर भन्न पाउने संविधानले परिकल्पना नगरेको बताए ।

‘तर मन्त्रिपरिषदले सिफारिस गर्यो भनेर राष्ट्पतिले त्यसैलाई स्वीकार गरेको देखियो । संविधानको धारा ७६ को उपधारा ४ प्रयोग भयो कि भएन भनेर हेर्ने सदनले हो’ ‘सदन र सभामुखको पत्र हेर्नुपर्छ । सदनमा प्रयास नै नगरी एकैचोटी जुन ढंगले ७६ को ५ अनुसार सरकार बनाउन आव्हान भयो त्यो संविधानसम्मत छैन भन्ने देखिन्छ ।

गुरुङले राष्ट्रपतिले एक दिनको समय दिएर सरकार बनाउन दिएको आदेश फर्मालिटी पुरा गर्ने र सरकार गठन हुन नसकोस् भन्ने आशय लुकेको बताए । ‘घटनाक्रमले छिटोभन्दा छिटो यहि सरकारले संसद विघटन गर्न सकोस् भन्ने उद्देश्यले यो कदम चालेको देखिन्छ ।