‘राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई धुजाधुजा पारे त्यसैले भोलि नै प्रधानमन्त्रीमाथि अविश्वास प्रस्ताव राख्नुपर्छ

वरिष्ठ अधिवक्ता, शम्भु थापा

६ जेठ, काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारीले आज सांझ वक्तव्य जारी गर्दै भोलि सांझ ५ बजेभित्रमा नयां सरकार गठन गर्ने समयसीमा तोकि दिएपछि यस विषयमा आफ्नो प्रतिक्रिया दिने क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपतिबाट संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि अचानक आह्वान गर्नु संविधानलाई नै समाप्त पार्ने कदम भएको बताएका छन् ।

संसदलाई भोलिकै दिनबाट समाप्त पार्ने उद्देश्यका साथ यस्तो आह्वान भएको प्रष्ट पारे । ‘संसद बचाउने हो भने भोलि नै यो प्रधानमन्त्रीमाथि अविश्वास प्रस्ताव राख्नुपर्छ र नयाँ प्रधानमन्त्रीको नाम प्रस्तावित गरेर संसदबाट प्रक्रिया सुरु
गर्नुपर्छ । अहिलेको अवस्थामा संसद बाँच्न जरुरी छ ।

राष्ट्रपतिले हाकाहाकी संविधानलाई खत्तम पार्ने काम गरिरहेको थापाले जनाए । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षसमेत रहेका उनले भने, ‘यो महाभियोगयुक्त काम पनि हो, यो सामान्य कुरा होइन ।

प्रधानमन्त्रीले ३० दिनको अवधिभित्र विश्वासको मत लिन सकेनन् वा राजीनामा दिएको अवस्थामा मात्र राष्ट्रपतिले यसरी सरकार गठनका लागि आह्वान गर्न मिल्ने थापाले बताए ।

नोकरलाई आदेश दिएकोजस्तो विषय होइन यो । सांसदहरुलाई नोकर, दासभन्दा पनि तल्लो दर्जाको ठानिएको देखिन्छ,’ उनले भने, ‘राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई धुजाधुजा पारेका छन् ।

भोलि अविश्वासको प्रस्ताव राख्दै प्रस्तावित प्रधानमन्त्रीको नामसहित दलहरु अगाडि बढेर यो संसदलाई बचाउनुपर्ने उनको भनाइ छ ।