बादललाई भोट हाल्ने भनेका छैनौ, भ्रममा नपर्न मतदातालाई माधव नेपाल सचिवालयद्धारा अनुरोध

४ जेठ, काठमाण्डौ । आज दिउंसो एमाले वरिष्ठन नेता माधवकुमार नेपाल गृहमन्त्री रामबहादुर बादलबीच नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको विषयमा मिडियाहरुमा चर्चा नै पायो । कसैले बादललाई माधव नेपालको सहयोग भने कसैले माधव नेपाल बोलेनन् भने कसैले माधवका भोट बादललाई नभएर खिमलाल देवकोटालाई नै जाने जस्ता समाचार बाहिर आएपछि आज बेलुका वरिष्ठ नेता माधवकुमार नेपाल सचिवालयले प्रेस नोट जारी संगै भेटको वास्तविकता खुलाउंदै वागमती प्रदेशमा जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापा बादललाई सहयोग गर्न नसक्ने स्पष्ट पारेका छन् । यसअघि बादलको सचिवालयले नेता नेपालले थापालाई चुनाव जिताउने प्रतिबद्धता जनाएको बताएको थियो । तर, माधव नेपालको सचिवालयले बादलको दाबीको खण्डन गरेको छ ।

बरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा बादललाई मतदान गर्ने सहमति नभएको बताएका छन् । आफ्नै पहलमा डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाइएको हुनाले मतदाताले स्वविवेक प्रयोग गर्न पाउने नेता नेपालले स्पष्ट पारेका छन् ।

नेता नेपालको सचिवालयका तर्फबाट मोहन गौतमले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘ आज कमरेड रामबहादुर थापा कोटेश्वर निवासमा आई पर्सि हुने राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न भनेकोमा पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता माधवकुमार नेपालले उम्मेदवारी दर्ताको परिस्थितिमा अन्य दलहरूसहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेदवार बनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो ।

गौतमको वक्तव्यका अनुसार्, ‘त्यसपछि कमरेड थापाले नै त्यसो भए मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गर्नुभएको हो । मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति छ र कतिपय स्थान एवम् मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति भएको छैन । भ्रममा नपर्न सबैलाई अनुरोध छ ।