क्लब छाड्ने विषय जिदानद्धारा अस्वीकार

रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले गत साता ड्रेसिङ रुममा खेलाडीहरुसँग यसै सिजनको अन्त्यपछि क्लब छाड्ने बताएका थिए । यस विषयमा विभिन्न पत्रपत्रिकामा समाचार आएको थियो ।

अहिले जिदानले यस विषयको खण्डन गरेका छन् । उनले आफुले क्लब छाड्ने विषयमा केही नबोेलेको दाबी गरेका छन् । आइतबार एथलेटिको बिल्बाओलाई हराएको रियल उपाधि होडमा कायम छ । लिगमा रियल र शीर्ष स्थानको एथलेटिको म्याड्रिड दुबैले अन्तिम खेल खेल्न बाँकी छ ।

यस्तोमा एथलेटिको २ अंकले अघि छ । अन्तिम खेलमा रियलले आगामी साता भिल्लरियल र एथलेटिकोको ओसाशुनाको सामना गर्दैछन् र यी खेलले नै उपाधि विजेताको छिनोफानो गर्नेछ । ‘मैले कसरी खेलाडीहरुलाई क्लब छाड्दैछु भन्नसक्छु । हामीले उपाधिका लागि सबै दिएका छौं र यस्तो अवस्थामा कसरी मैले खेलाडीहरुलाई म रहनेछैन भन्छु,’ जिदानले रिपार्टरहरुसँग भने,‘ क्लबबाहिर रहेका मानिसहरुले जे पनि भन्नसक्छन् । तर म खेलाडीहरुसँग यस्तो कहिल्यै भन्दिंन ।’

जिदानले क्लबका अहिले दोस्रो कार्यकाल प्रशिक्षकका रुपमा काम गरिरहेका छन् । पहिलो कार्यक्रममा उनले ला–लिगा उपाधिसँगै क्लबलाई लगातार तीनपटक युरोपेली च्याम्पियन बनाएका थिए ।

दोस्रो कार्यकालमा पनि उनले एकपटक ला–लिगा उपाधि जिताइसकेका छन् । यसपटक च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको रियलले ला–लिगा उपाधिलाई नै आफ्नो लक्ष्य बनाएको छ ।