मदन भण्डारीलाई सम्झदै बल्खुमा एमाले नेताहरु

३ जेठ, काठमाडौं । आज जेठ ३ गते अर्थात् २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन बिभाग प्रमुख जिवराज आश्रितको हत्या भएको दिन । एमालेले मनद भण्डारीका हत्यारा पत्ता नलाए पनि वर्षेपिच्छे स्मृति दिवस भने मनाउंदै आएको छ । आज नेकपा एमालेले २८ औं मदन–आश्रित स्मृति दिवस मनाउँदै छ । स्मृति दिवसको अवसरमा एमाले नेताहरु बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा भेला भएर मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका छन् ।

कार्यक्रममा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली, बामदेव गौतम, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेताहरु सुभाष नेम्वाङ, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे लगायत सहभागी थिए ।

विगतमा एमालेले मदन–आश्रित स्मृति दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गर्थ्यो । यसपटक भने कोरोना भाइरस संक्रमणको महामारीका कारण सीमित संख्यामा भेला भएर एमालेले स्मृति दिवस मनाएको छ ।

एमालेले बल्खुस्थित पार्टी कार्यालय रहेको क्षेत्रलाई मदन भण्डारीको नामबाट ‘मदन नगर’ नामाकरण गरेको छ । बल्खुस्थित एमाले केन्द्रीय कार्यालयको रातो भवन २०७२ सालको भूकम्पले क्षति पुगेको छ । सो स्थानमा नयाँ अत्याधुनिक पार्टी कार्यालय निर्माणको प्रक्रिया अघि बढाइएको छ ।