कोरोनाभाइरस नियन्त्रण, रोकथाम तथा प्रतिकार्यका लागि कर्णाली प्रदेश सरकारद्धारा १४ करोड निकासा

३ जेठ, बिरेन्द्रनगर । कोरोनाभाइरस नियन्त्रण, रोकथाम तथा प्रतिकार्यका लागि कर्णाली प्रदेश सरकारले तत्काल झन्डै १४ करोड रूपैयाँ स्वास्थ्य सेवा निर्देशनालयलाई दिने भएको छ ।

हिजो बसेको कर्णाली प्रदेश मन्त्रिपरिषदको बैठकले १३ करोड ८० लाख रुपैयाँ विभिन्न सामाग्री खरिद तथा हेलिकप्टरबाट गरिने उद्धारका लागि दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले सामाजिक विकास मन्त्रालयमार्फत उक्त रकम दिन लागिएको बताए ।

अक्सिजन सिलिन्डर खरिद र व्यवस्थापन गर्न ६ करोड ३५ लाख, अक्सिजन कन्स्ट्रेटर खरिदका लागि ५ करोड ४५ लाख, रेम्डेसिभिर लगायतका औषधि खरिद गर्न १ करोड र कोभिडका बिरामीलाई हेलिकप्टरबाट गरिने उद्धारका लागि १ करोड रुपैयाँ दिने निर्णय भएको छ ।

प्रदेशमा आवश्यक पर्ने अक्सिजन आपूर्ति गर्न सुर्खेतमा अक्सिजन प्लान्ट स्थापना गर्ने, कोभिड–१९ प्रतिकार्य सम्बन्धी कार्य गर्न आवश्यकताअनुसार सार्वजनिक खरिद ऐन २०६३ को दफा ६६ र सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४५ को प्रक्रियाअनुसार खरिद सम्बन्धी कार्य गर्ने निर्णय पनि मन्त्रिपरिषद वैठकले गरेको छ ।

कोभिड प्रतिकार्यका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश सरकारअन्तर्गत स्वीकृत बजेट शीर्षकहरुबाट समर्पण गराई वा अन्य जुनसुकै बजेट शीर्षकबाट बजेट स्रोतको व्यवस्थापन गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।