बिराटनगरमा १३ घन्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु

२ जेठ, विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा उपचाररत विभिन्न अस्पतालमा १३ घन्टामा १२ जनाको कोरोना मृत्यु भएको छ ।

नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज र कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १२ जनाको मृत्यु भएको हो । नोबेलमा ७, कोशीमा ३ र विराट अस्पतालमा २ जनाको मृत्यु भएको हो । शनिबार दिउँसो ३ बजेदेखि आइतबार बिहान ४ बजेसम्म यी संक्रमितहरुको मृत्यु भएको छ ।
नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार मोरङको पथरीशनिश्चरे नगरपालिका–१ की ६४ वर्षीया वृद्धा महिलाको बिहान १ बजे मृत्यु भएको छ । उनलाई वैशाख २३ गते अस्पताल भर्ना गरिएको थियो ।
विराटनगर महानगरपालिका–१ का ३५ वर्षीय पुरुषको राति ११ः३० बजे मृत्यु भएको छ । पीसीआर परीक्षण गराउंदा कोरोना पुष्टि भएका उनलाई उपचारका लागि शनिबार दिउंसो मात्रै अस्पताल भर्ना गरिएको थियो ।

उदयपुरको बेलटारका ५६ वर्षीय पुरुषको राति १०ः५६ बजेतिर नोबेलमै मृत्यु भएको हो । उनलाई वैशाख २६ गते ल्याइएको थियो । विराटनगर–४ का ५२ वर्षीय पुरुषको राति १०ः२५ बजेतिर मृत्यु भएको हो । मृतकलाई वैशाख ३१ गते भर्ना गरिएको थियो ।

सुन्दरहरैँचा नगरपालिका–९ का ६० वर्षीया वृद्धा महिलाको शनिबार दिउँसो ४ः१५ बजेतिर मृत्यु भएको हो । उनलाई वैशाख २७ गते अस्पताल भर्ना गरिएको थियो ।

सिरहाका ६९ वर्षीय पुरुषको दिउँसो ४ः३० बजे मृत्यु भएको छ । उनलाई वैशाख ३१ गते भर्ना गरिएको थियो । सिराहकै ६२ वर्षीय वृद्ध पुरुषलाई उपचारका लागि वैशाख २५ गते अस्पताल भर्ना गरिएको थियो । सङ्क्रमित वृद्धको शनिबार दिउँसो ३ः१५ बजे मृत्यु भएको हो ।

यस्तै कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन जना सङ्क्रमितको मृत्यु भएको छ । मोरङको सुनवर्षी नगरपालिका–३ का ५३ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको छ । उनलाई वैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो ।

विराटनगर–१ की ३४ वर्षीया महिलाको पनि राति नै मृत्यु भएको छ । उनलाई पनि उपचारका लागि वैशाख २४ गते भर्ना गरिएको थियो । विराटनगर–१४ का ६८ वर्षीय वृद्ध पुरुषको शनिबार राति मृत्यु भएको हो । वृद्धलाई शनिबार दिउंसो भर्ना गरिएको थियो ।

यस्तै विराट मेडिकल कलेजमा दुई सङ्क्रमितको मृत्यु भएको छ । इलामको इलाम नगरपालिका–८ का ३४ वर्षीय पुरुषको आइतबार बिहान ४ बजे मृत्यु भएको छ ।

यस्तै कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका पुरुषलाई उपचारका लागि वैशाख २८ गते अस्पताल भर्ना गरिएको थियो । सर्लाही लालबन्दीकी ३५ वर्षीया महिलाको विराटमै शनिबार राति १०ः२० बजे मृत्यु भएको हो ।