काम गरेको ज्याला नदिएको रिसमा एक निर्माण व्यवसायीको छुरा हानी हत्या

१ जेठ, वैशाख । मोरङको लेटाङमा छुरा प्रहार गरी हिजो राति एक निर्माण व्यवसायीको हत्या भएको छ ।

लेटाङ–३ का १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूले लेटाङ नगरपालिका–३ का २२ वर्षीय रोमन राईको हत्या गरेको प्रहरीले बताएको छ ।

हत्यामा संलग्न दुबै जना ट्याक्टर मजदुर हुन् । रोमन निर्माण व्यवसायी हुन् ।

काम गरेको पैसा माग्दा दुबै पक्षबीच बढेको विवाद हत्यासम्म पुगेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार लेटाङकै त्रिशूली चोकमा रोमनलाई छुरा हानेर सुशील र दिलबहादुरले हत्या गरेका हुन् ।

प्रहरीका अनुसार हत्या गरिएका युवा लेटाङमै पुल हाउस सञ्चालन गरेर बस्थे ।

ट्याक्टर लगायतका ढुवानीका साधनको खोजी गरेर ढुङ्गा, बालुवा निर्माण सामाग्री ढुवानीका लागि ठेक्कामा लगाउने काम गर्थे ।

पेटमा छुरा प्रहार गरिएपछि गम्भीर घाइते बनेका उनको उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमन अर्याल नेतृत्वको टोलीले घटनापछि फरार रहेका दर्जी र लिम्बूलाई लेटाङबाट आज बिहान पक्राउ गरेको छ ।